कांग्रेसको बुढो रुखमा गगनको ‘सञ्जीवनी’

पाेखरा | पुस ७, २०७९

कांग्रेसको बुढो रुखमा गगनको ‘सञ्जीवनी’


तपाइ मान्नुस्, नमान्नुस्, नेपाली कांग्रेसका कार्यकर्ता र समर्थकबीच प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा सुन्न रुचाइने नाम हो गगन थापा । यसका विविध कारणमध्ये पहिलो कारण हो गगन सडक आन्दोलनबाट उदाएका नेता हुन् । दोस्रो कारण कांग्रेसभित्र उनी ‘पोलिटिकल सेलेब्रिटी’ हुन् । 

 

पछिल्लो र सशक्त कारण गगन ‘युवा’ हुन् । कांग्रेसभित्र गगनका समकक्षी, समर्थक, कार्यकर्ता छन् भने बाहिर फ्यान छन् । यसर्थ, कांग्रेसभित्रबाट मात्र हैन बाहिरबाट पनि उनै युवाको माग थियो । फ्यानहरु खुलेरै बोले । समर्थक र कार्यकताहरु सुषुप्तरुपमा । 

 

आसन्न निर्वाचनपछि वैकल्पिकरुपमा उदाएका दलहरुले आर्जन गरेको शक्ति युवाहरुको आडमा हो । तर उक्त दलका युवाहरु राजनीतिमा आकर्षित हुनुमा गगनकै प्रत्यक्ष–अप्रत्यक्ष हात र साथ छ । जसै गगनले चुनाव जिते, उनले स्पष्टरुपमै संसदीय दलको नेतामा साथ, समर्थन जुटाउन लागिपरे । देउवालाई चुनौति दिन फलामको च्युरा चपाउनुसरह ठानेका गगनले प्रयास नै नगरी हार मान्न चाहन्नथे । 

 

र, मंगलबार उनले कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराए । ५१ हजार रुपैयाँ तिरेर मनोनयन दर्ता गरेपछि उनको पक्षमा देशै गुञ्जायमान भयो । गठबन्धनका दलबाहेक अन्यले गगनको जीतलाई आवश्यक पनि ठाने । तर नतीजा उनको पक्षमा आएन । देउवाले ६४ मत पाउँदा गगनको पक्षमा २५ मत रह्यो । 

 

गणितीय हिसाबकिताबमा गगनको मत निकै कम हो । उनी ३९ मतले पछि परे । गगनलाई मत हाल्ने २५ जना कांग्रेस र देशमा परिवर्तनका पक्षधर हुन् । गगनलाई मनोनयत दर्तामा प्रस्तावक बसेका शेखर कोइरालाकै समूहमा ३१ सांसद देखिएका थिए । तर उनै समूहबाट समेत भोट नपाएपछि मतान्तर फराकिलो भयो । 

 

स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले ०५१ को मध्यावधि निर्वाचनमा देउवालाई संसदीय दलको नेता चयन गरेपछि उनको भाग्योदय भयो । सोही कारण देउवा ४९ वर्षकै उमेरमा प्रधानमन्त्री भए । 
 

 

त्यसयता पटकपटक गरी ५ पटक प्रधानमन्त्री भइसकेका देउवा अब छैठौं अवसरको तयारीमा छन् । यसमानेमा अहिले संसदीय दलको नेताको चुनावमा उठ्दा गगनको उमेर ४६ वर्ष छ । थापा देउवाभन्दा ३० वर्ष कान्छा हुन् । 
 

 

यहाँनेर उल्लेखनीय कुरा भनेको कोइरालाले देउवालाई प्रधानमन्त्रीका लागि तयार गर्न जसरी ४९ वर्षकै उमेरमा अघि सारे देउवाले पनि त्यो कर्म गर्न सक्नुपथ्र्याे । तर अवसर र राजनीति पदकै लागि गरिने तथ्य जगजाहेर भएकाले देउवा छैठौं पटक पनि संसदीय दलको नेता बन्न चाहेपछि गगनले विद्रोहको बिगुल फुक्नै पर्ने थियो । 
 

 

कांग्रेसमा पूस्तान्तरणलाई महत्व नदिने र नयाँलाई कजाएरै राख्ने परिपाटीविरुद्ध गगनले दिएको उम्मेदवारी राजनीतिक डिस्कोर्समा ‘पोलिटिकल प्याराडिग्म सिफ्ट’ हो । र, उनलाई सघाउने डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल उनका सारथि हुन् । विपक्षी खेमाले कांग्रेस नरुचाउलान् तर गगनको कदमलाई सम्मान र समर्थन नगर्नेहरु केवल पार्टीका गोटीमात्र हुन् । 

 

चुनाव संख्या नाप्ने तराजु हो । जसले तौल त नाप्ला तर गुणस्तर कदापि मापन गर्न सक्दैन । अर्थात्, जोडघटाउमा गगनले हारेपनि उनको कदमले स्वयंलाई जिताएको छ । र, आगामी दिनमा कांग्रेसको बुढो रुखलाई सञ्जीवनीमा परिणत गर्नेछ ।

 

त्यसो त माउ पार्टी भनि धाक लगाउने सबै दललाई सञ्जीवनी बुटी चाहिएको छ । हालै सम्पन्न निर्वाचनले सबैलाई ‘साइज’मा ल्याइदिएको छ । सबै हारेका छन् तैपनि हार स्वीकार्न मानेका छैनन् । फ्रेञ्च सम्राट लुइ सोह्रौजस्तै आफैलाई सबथोक ठान्ने नाइके पार्टीको उच्च पदमा लामो समयदेखि आशिन छन्, रहिरहन चाहेका छन् ।

 

जसविरुद्ध बिगुल फुक्नुपर्ने तन्नेरी कार्यकर्ता ‘ख्वामित्, हजुरको म त दास पो हुँ’ शैलीमा सुमेरु घुमिरहेका छन् । विश्वास गरौं, अब दासहरुले गगनको कदमबाट थोरै भएपनि ‘टनिक’ पाउनेछन् । 


 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्