कांग्रेसको बुढो रुखमा गगनको ‘सञ्जीवनी’

पाेखरा | पुस ७, २०७९

कांग्रेसको बुढो रुखमा गगनको ‘सञ्जीवनी’


तपाइ मान्नुस्, नमान्नुस्, नेपाली कांग्रेसका कार्यकर्ता र समर्थकबीच प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा सुन्न रुचाइने नाम हो गगन थापा । यसका विविध कारणमध्ये पहिलो कारण हो गगन सडक आन्दोलनबाट उदाएका नेता हुन् । दोस्रो कारण कांग्रेसभित्र उनी ‘पोलिटिकल सेलेब्रिटी’ हुन् । 

 

पछिल्लो र सशक्त कारण गगन ‘युवा’ हुन् । कांग्रेसभित्र गगनका समकक्षी, समर्थक, कार्यकर्ता छन् भने बाहिर फ्यान छन् । यसर्थ, कांग्रेसभित्रबाट मात्र हैन बाहिरबाट पनि उनै युवाको माग थियो । फ्यानहरु खुलेरै बोले । समर्थक र कार्यकताहरु सुषुप्तरुपमा । 

 

आसन्न निर्वाचनपछि वैकल्पिकरुपमा उदाएका दलहरुले आर्जन गरेको शक्ति युवाहरुको आडमा हो । तर उक्त दलका युवाहरु राजनीतिमा आकर्षित हुनुमा गगनकै प्रत्यक्ष–अप्रत्यक्ष हात र साथ छ । जसै गगनले चुनाव जिते, उनले स्पष्टरुपमै संसदीय दलको नेतामा साथ, समर्थन जुटाउन लागिपरे । देउवालाई चुनौति दिन फलामको च्युरा चपाउनुसरह ठानेका गगनले प्रयास नै नगरी हार मान्न चाहन्नथे । 

 

र, मंगलबार उनले कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराए । ५१ हजार रुपैयाँ तिरेर मनोनयन दर्ता गरेपछि उनको पक्षमा देशै गुञ्जायमान भयो । गठबन्धनका दलबाहेक अन्यले गगनको जीतलाई आवश्यक पनि ठाने । तर नतीजा उनको पक्षमा आएन । देउवाले ६४ मत पाउँदा गगनको पक्षमा २५ मत रह्यो । 

 

गणितीय हिसाबकिताबमा गगनको मत निकै कम हो । उनी ३९ मतले पछि परे । गगनलाई मत हाल्ने २५ जना कांग्रेस र देशमा परिवर्तनका पक्षधर हुन् । गगनलाई मनोनयत दर्तामा प्रस्तावक बसेका शेखर कोइरालाकै समूहमा ३१ सांसद देखिएका थिए । तर उनै समूहबाट समेत भोट नपाएपछि मतान्तर फराकिलो भयो । 

 

स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले ०५१ को मध्यावधि निर्वाचनमा देउवालाई संसदीय दलको नेता चयन गरेपछि उनको भाग्योदय भयो । सोही कारण देउवा ४९ वर्षकै उमेरमा प्रधानमन्त्री भए । 
 

 

त्यसयता पटकपटक गरी ५ पटक प्रधानमन्त्री भइसकेका देउवा अब छैठौं अवसरको तयारीमा छन् । यसमानेमा अहिले संसदीय दलको नेताको चुनावमा उठ्दा गगनको उमेर ४६ वर्ष छ । थापा देउवाभन्दा ३० वर्ष कान्छा हुन् । 
 

 

यहाँनेर उल्लेखनीय कुरा भनेको कोइरालाले देउवालाई प्रधानमन्त्रीका लागि तयार गर्न जसरी ४९ वर्षकै उमेरमा अघि सारे देउवाले पनि त्यो कर्म गर्न सक्नुपथ्र्याे । तर अवसर र राजनीति पदकै लागि गरिने तथ्य जगजाहेर भएकाले देउवा छैठौं पटक पनि संसदीय दलको नेता बन्न चाहेपछि गगनले विद्रोहको बिगुल फुक्नै पर्ने थियो । 
 

 

कांग्रेसमा पूस्तान्तरणलाई महत्व नदिने र नयाँलाई कजाएरै राख्ने परिपाटीविरुद्ध गगनले दिएको उम्मेदवारी राजनीतिक डिस्कोर्समा ‘पोलिटिकल प्याराडिग्म सिफ्ट’ हो । र, उनलाई सघाउने डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल उनका सारथि हुन् । विपक्षी खेमाले कांग्रेस नरुचाउलान् तर गगनको कदमलाई सम्मान र समर्थन नगर्नेहरु केवल पार्टीका गोटीमात्र हुन् । 

 

चुनाव संख्या नाप्ने तराजु हो । जसले तौल त नाप्ला तर गुणस्तर कदापि मापन गर्न सक्दैन । अर्थात्, जोडघटाउमा गगनले हारेपनि उनको कदमले स्वयंलाई जिताएको छ । र, आगामी दिनमा कांग्रेसको बुढो रुखलाई सञ्जीवनीमा परिणत गर्नेछ ।

 

त्यसो त माउ पार्टी भनि धाक लगाउने सबै दललाई सञ्जीवनी बुटी चाहिएको छ । हालै सम्पन्न निर्वाचनले सबैलाई ‘साइज’मा ल्याइदिएको छ । सबै हारेका छन् तैपनि हार स्वीकार्न मानेका छैनन् । फ्रेञ्च सम्राट लुइ सोह्रौजस्तै आफैलाई सबथोक ठान्ने नाइके पार्टीको उच्च पदमा लामो समयदेखि आशिन छन्, रहिरहन चाहेका छन् ।

 

जसविरुद्ध बिगुल फुक्नुपर्ने तन्नेरी कार्यकर्ता ‘ख्वामित्, हजुरको म त दास पो हुँ’ शैलीमा सुमेरु घुमिरहेका छन् । विश्वास गरौं, अब दासहरुले गगनको कदमबाट थोरै भएपनि ‘टनिक’ पाउनेछन् । 


 

काठमाडौँ:   फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।   आज शुक्र...

थप पढ्नुहोस्

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।   रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका ला...

थप पढ्नुहोस्

कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

थप पढ्नुहोस्