सम्झनामा पहिलो महिला जनप्रतिनिधि सिद्धिकुमारी

पाेखरा | पुस ५, २०७९

सम्झनामा पहिलो महिला जनप्रतिनिधि सिद्धिकुमारी


रविन्द्र माकाजु

 

पोखराको इतिहासमा महिला जनप्रतिनिधिको चर्चा पर्दा सिद्धिकुमारी गौचनको नाम ऐतिहासिक एवं अविस्मरणीय छ । अहिले पोखराका ३३ वडामा १ जना वडाध्यक्ष महिला राधिका शाही योगी (वडा नं‍ १७) छिन् ।

 

 

यसअघि ०७४ सालमा भएको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नं १ को अध्यक्षमा शारदा पराजुली निर्वाचित भईन् । अहिले जताततै महिला सहभागिता, आरक्षणको चर्चा, परिचर्चा हुने गर्दछ ।

 

यस अघिको निर्वाचनमा महिलालाई खासै सहभागी गराइदैनथ्यो । पहिला समाजमा शिक्षा र चेतनाको कमी हुँदा नारी घरबाहिर निस्कन सक्ने वातावरण थिएन । अनावश्यक रूपमा कुरा काट्थे, टीका, टिप्पणी गर्दथे ।
यस्तो विषम परिस्थितिमा सिद्धिकुमारी गौचनले २०३१ सालमा पोखरा नगरपालिका वडा नं। १ मा वडाध्यक्षको भूमिका निर्वाह गरिन् ।

 

उनको यस योगदानलाई धेरैले थकाली समुदायकी एक शिक्षित, चेतनशील जागरुक महिलाको संज्ञा दिए । जसले अहोरात्र आफ्नो श्रम, शीप, ज्ञानलाई टोलवासीको हितमा खर्च गरिन्, समुदायको सहयोग लिएर वडा कार्यालय भवन बनाइन् ।

 

 

वडाका हरेक पोलमा ट्युबलाइट राख्न कलाकार एवं बुद्धिजिवी जम्मा गरेर देउसी भैलो खेलियो । हरेक वडावासीका समस्यालाई आफ्नै सम्झेर सेवा गरिन् । उनको यस सेवा भावबाट धेरै मान्छे प्रभावित भए ।

 

 

उनले महिला जनप्रतिनिधि जनसेवामा झनै क्रियाशील हुन सक्छन् भन्ने सन्देश दिईन् । उनले सन् १९५७ मा अमेरिकाका २ ठूला सहर वासिङङटन डिसी र मेक्सिगन सिटीमा अन्तर्राष्ट्रिय युवा विचार आदानप्रदान प्रोजेक्टमा सहभागी भई खाद्य एवं पोषण, सिलाई बुनाई, गृहविज्ञान, महिला सीप विकास परियोजना जस्ता थुप्रै तालिम हासिल गरिन् ।

 

 

गृहविज्ञानमा विशेष रुचि राख्ने सिद्धि ग्राम विकास कार्यक्रम अन्तर्गतको प्रोजेक्टमा जागिरे पनि भईन् । उनी नेवारी, थकाली, गुरुङ, हिन्दी, अंग्रेजी भाषा जान्दथिन् । पिता डिठ्ठा मोहनप्रसाद र माता अविरकुमारीको सन्तानका वि.सं. २००० सालको वैशाख महिनाको १५ गते मुस्ताङको लेतेमा सिद्धि जन्मिए पनि उनको बाल्यकाल पोखरामा नै बित्यो ।

 

 

उनको विवाह २०१५ सालमा विश्वमोहन गौचनसँग भएको थियो । सानै उमेरदेखि विनम्र र सरल स्वभावकी सिद्धिले ०४६ सालपछि काठमाडौंको टेवहालमा सम्झना लज सञ्चालन गरिन् । जहाँ अधिकांश बास बस्नेहरु पोखे्रलीहरु हुन्थे । आतिथ्यता गरेर मीठो खाना खुवाउन थकाली खप्पिस हुन्छ भन्ने कुराको उदाहरण सिद्धीले पेश गरिन् ।

 

 

२ छोरा लेलिन र मानव, एक छोरी अम्बिकाकी आमा सिद्धि सबैका प्रिय थिईन् । उनले आफ्ना ससुरा सासूको स्याहार सुसार, सेवा सम्मानमा कुनै कमी आउन दिईनन् । उनका ससुरा रामबहादुर सिद्धिलाई पूर्वजन्मका आमासमेत भन्दथे ।

 

 

थकाली महिला परिवारको सचिवको भूमिका पनि निर्वाह गरेकी सिद्धि सामाजिक सेवामा रुचि राख्ने श्रीमान्लाई पनि प्रोत्साहन दिने गर्दथिन् । तर वि.सं. २०६७ साल कात्तिक १२ गते उनको भौतिक जीवन समाप्त भयो । उनले पुर्‍याएको सामाजिक सेवाका कारण उनको सम्झना लामो समयसम्म पोखरेलीले सम्झने छन् ।

 

 

नेपाल महिला संगठनकी केन्द्रीय सदस्यसमेत भइसकेका सिद्धिले अमेरिका, हङकङ लगायतका मुलुकको भ्रमण गरेकी थिइन् । उनको योगदानको कदर स्वरूप २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रबाट उनले सेवा पदक पाएकी थिइन् ।

 

 

अहिले महिला हरेक क्षेत्रमा अगाडि आउँदै छन् । मञ्जु गुरुङ २ पटक पोखरा महानगर पालिकाको उपमेयर बनेकी छन् । त्यस्तै पोखरा क्षेत्र अर्थात् कास्की २ को संसद सदस्यमा २ पटक विद्या भट्टराई अधिकारी विजयी बनिन् ।

 

त्यस्तै गण्डकी प्रदेशको उपसभामुखमा सृजना शर्मा, सांसद शारदा पौडेल, कृष्णकुमारी परियार, गण्डकी प्रदेशको सभासदमा पुष्पा केसी भण्डारी, प्रभा कोइराला, मिना गुरुङको संलग्नतालाई पोखे्रली नारी प्रतिभाको रूपमा मान्यता दिइएको छ ।

 

 

पहिला पहिला नगर पञ्चायतले केही व्यक्तिलाई नगर सभासदको रूपमा मनोनित गर्ने चलन थियो । यसै क्रममा कृष्णकुमारी सुवेदी पहिलो नगर सभासद थिइन् । पछि महिला संगठनका तर्फबाट नगर सभासद बन्ने चलन आयो । तर जे होस् पोखराको पहिलो महिला जनप्रतिनिधिका रूपमा सिद्धिकुमारी गौचनको योगदानलाई स्वर्ण अक्षरले अंकित गरिएको छ ।

 

 

सिद्धिकुमारीको अप्रत्यासित निधनपछि उनका पति विश्वमोहनले सिद्धिको नाउँमा केही गर्न पाए हुन्थ्यो भन्दै सिद्धि शोककाव्य प्रकाशित गरे । साथै सिद्धि गौचन स्मृति कोष स्थापना गरे । सो पुरस्कारद्वारा डा. वसन्त ताम्राकार र उद्यमी महिला रामकली खड्का पुरस्कृत भइसकेका छन् । 

 

कास्की:   पोखरा महानगरपालिका –२६ स्थित सामुदायिक विद्यालयको  जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।    कास्कीको (साबिक कन्धनीडाँडा गाविस &ndas...

थप पढ्नुहोस्

पर्साः   वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् ।   वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका स...

थप पढ्नुहोस्

दाङः   बङ्गलाचुली गाउँपालिका –४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ ।   हरेक वर्ष आम्दानी बढेपछि चैते धा...

थप पढ्नुहोस्