गण्डकी प्रदेश: प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो
पाेखरा | मंसिर ११, २०७९
पोखरा: गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ ।
मनाङको प्रदेश निर्वाचन क्षेत्र९२० मा राजिव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको थियो । स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेले निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका कारण त्यहाँ मतगणना सुरु हुन सकेको छैन ।
हालसम्मको नतिजाले प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो देखिएको छ भने समानुपातिकमा नेकपा एमाले पहिलो देखिएको छ । कांग्रेसले गण्डकी प्रदेशसभामा १६ स्थानमा जित हासिल गरेको छ । यसअघि २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नवलपुर क्षेत्र नं १ मा मात्रै विजयी बनेको थियो, भने प्रदेशसभामा जम्मा छ स्थानमा जितेको थियो ।
उक्त चुनावमा समानुपातिकबाट नौ स्थान गरी कूल १५ सिट हासिल गरेको कांग्रेसले अहिले भने प्रत्यक्षमा नै १६ सिट सुरक्षित गरी पहिलो पार्टी बनेको हो । यस निर्वाचनमा गठबन्धनका कारण कांग्रेसले प्रतिनिधिसभामा १२ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको थियो भने प्रदेशसभामा २२ उम्मेदवार बनाएको थियो ।
अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० सिट गरी २७ सिट हासिल गरेको नेकपा एमाले यस पटकको निर्वाचनमा उक्त जितलाई सुरक्षित गर्न सकेन । यस पटकको निर्वाचन परिणामअनुसार प्रत्यक्षतर्फ एमाले प्रतिनिधिसभातर्फ पाँच स्थानमा विजयी बनेको छ भने प्रदेशसभातर्फ १२ स्थानमा विजयी बनेको छ । एमालेले प्रतिनिधिसभामा १८ वटै क्षेत्रमा र प्रदेशसभामा ३४ स्थानमा उम्मेदवारी दिएको थियो । समानुपातिकमा भने हालसम्मको जारी मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले पहिलो बनेको छ ।
अघिल्लो निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा तीन स्थानमा जित हासिल गरेको नेकपा माओवादी केन्द्र अहिले भने दुई स्थानमा मात्रै विजयी बनेको छ । कांग्रेस सहितको पाँच दलीय गठबन्धनका क्रममा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ चार स्थानमा उम्मेदवारी दिएको थियो । त्यस्तै अघिल्लो निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्षमा नौ स्थान जितेको माओवादी केन्द्र अहिले पाँच ठाउँमा मात्रै विजयी बनेको छ । अघिल्लो निर्वाचनमा समानुपातिक तीन सहित गण्डकी प्रदेशसभामा माओवादीले १२ सिट सुरक्षित गरेको थियो ।
अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ दुई सिटमा निर्वाचित बनेको राष्ट्रिय जनमोर्चाले समानुपातिकबाट एक गरी तीन सिट कायम गरेको थियो । अहिले भने जनमोर्चाले प्रदेशसभामा उम्मेदवार उठाएन । प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ–१ बाट विजयी बन्नुभएको छ ।
कांग्रेस सहितको गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले गण्डकीमा जित निकाल्न सकेन । प्रतिनिधिसभातर्फ कास्की–२ र प्रदेशसभातर्फ नवलपुर–१ (२) मा उम्मेदवारी दिए पनि दुवैमा पराजय भोगेको छ ।
गण्डकी प्रदेशमा समानुपातिकतर्फ एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत प्राप्त गरेको छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

