रित्तो खल्ती चुनावमा होमिए महादेव, भन्छन्– ‘इमानदारिता मेरो शक्ति’

पाेखरा | कात्तिक १७, २०७९

रित्तो खल्ती चुनावमा होमिए महादेव, भन्छन्– ‘इमानदारिता मेरो शक्ति’

पोखरा: कास्की क्षेत्र नम्बर २ बाट जसै महादेव गुरुङले प्रतिनिधिसभामा उम्मेदवारी दिए, नेपाली कांग्रेस र गठबन्धनमा भुइँचालो गयो । तरपनि महादेवले उम्मेदवारी फिर्ता लिनेमा गठबन्धन विश्वस्त थियो । 

 

उनलाई उम्मेदवारी फिर्ता लिन स्वयं पार्टी सभापति शेरबहादुर देउवाले फोनमार्फत आग्रह गरे । तर त्यो आग्रहले पनि काम नगरेपछि अहिले गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराल तनावमा छन् ।

 

‘सभापतिज्यूले नै फोन गरेपछि उहाँले फिर्ता लिनुहुन्छ भन्नेमा हामी ढुक्क थियौं’ नेकपा (एकीकृत समाजवादी) कास्कीका एक नेताले भने ‘तर उहाँले फिर्ता लिनुभएन, यसले हामीलाई समस्यामा पा¥यो ।’ यद्यपि, उनले बरालले नै जित्ने दाबी भने गरेका छन् । 

 

त्यसपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पोखरा आएकाबेला महादेवलाई भेटेर आग्रह गरे । उक्त आग्रह पनि काम लागेन, नेपाल निराश भएर फर्किए । 
 

 

कांग्रेस र एसका प्रमुखले गरेको अनुरोध, आग्रहमा थोरै आश्वासन र लोभ देखाइएको महादेवले बताए । उनले भने, ‘मैले बार्गेनिङ् गर्न उम्मेदवारी दिएकै हैन, म सत्य र निष्ठाको राजनीतिमा लागेको मान्छे हुँ ।’ 

 

उम्मेदवारी दिएपछि फिर्ता गर्न अनुरोध गर्ने क्रममा कांग्रेसले ‘जे पनि दिन तयार’ रहेको जानकारी दिँदै महादेवले त्यसपश्चात् आफुलाई झनै साहस मिलेको बताए ।

 

‘मलाई जे मागेपनि दिन तयार रहेको बताइयो’ महादेवले भने ‘तर मैले पद र पैसा लागि राजनीति गरेकै होइन भनिदिए ।’ त्यसपछि झनै चुनावमा होमिन बल मिलेको उनको भनाई छ । 

 

आजदेखि उम्मेदवारहरुले प्रचारप्रसारमा तीब्रता दिन थालेकोबेला महादेव भने सिद्धार्थचोक भन्दा केही उत्तरमा रहेको सय वर्ष पुरानो घरमा एउटा ब्यानर झुण्डाएर बसेका छन् ।

 

पुरानो घरको साँघुरो बरण्डामा २–४ थान कुर्सीसाथ महादेवसँगै अर्का उम्मेदवार दुर्गाप्रसाद कोइरालाले चुनावी मोर्चा सम्हालिरहेका छन् । कोइराला क्षेत्र नम्बर ३ बाट पुतली चिन्हमै स्वतन्त्र उम्मेदवार हुन् । 

 

‘कति छ चुनावमा खर्च गर्ने पैसा ?’ भन्ने प्रश्नमा केही गम्भीर देखिएका महादेवले भने ‘तीन छोरीले २ लाख पठाए, साथीभाईले सम्पर्क कार्यालय खोलिदिए, ब्यानर बनाइदिए, मेरो खल्ती रित्तो छ ।’

 

तुरुन्तै सोधियो, ‘रित्तो खल्तीले चुनाव लडेर जितिन्छ र ?’ महादेवको जवाफ छ, ‘चुनाव जित्न पैसा हैन, शक्ति चाहिन्छ । र, इमानदारिता मेरो शक्ति हो ।’

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्

काठमाडौं:  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।    आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको...

थप पढ्नुहोस्