बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल
बाग्लुङ | कात्तिक १६, २०७९
गलकोट : बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ । माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो । बेलढुङ्गा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको छ ।
बेलढुङ्गा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताउनुभयो । “समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिए, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो”, उहाँले भन्नुभयो । ढुङ्गा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुङ्गालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकषर्ति बनाएको छ ।
यहाँबाट हिमशङ्खला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ । प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसको भनाइ छ । “पालिका र गण्डकी प्रदेशले सहयोग गरेको छ, पाँच वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छौँ”, बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालकसमेत रहनुभएका श्रीसले भन्नुभयो, “अहिले शुक्रबार र शनिबार अरु समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।”
दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरुप ल्याएको मात्रै छैन, बेलढुङ्गालाई राष्ट्रियरूपमा नै चिनाइसकेको छ । गुमनाम रहेको बेलढुङ्गाको विशेषता र प्रचार–प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बेलढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि रु २० लाख र चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो ।
करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ । समुद्री सतहदेखि दुई हजार छ सय १२ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको स्थानीय मनकुमारी भण्डारी बताउनुहुन्छ ।
भत्किएको बेलढुङ्गा काठेखोला गाउँपालिकाको रु दुई लाख ५९ हजारमा मर्मतसम्भार गरिएको थियो । ओख्लेको देउरालीसम्म सडक पुगेको छ । त्यहाँबाट दुई सय ६० मिटर पदमार्ग प्रयोग गरेर बेलढुङ्गा पुग्न सकिन्छ । दृश्यावलोकनसँगै सूर्योदय पनि यहाँबाट हेर्न सकिन्छ । अधिकांश पर्यटक घरबासमा बास बसेर बिहान बेलढुङ्गा पुगेर सूर्योदय हेर्ने गरेका छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

