अपाङ्गताले नरोकेको स्वरोजगार कर्म

बाग्लुङ | कात्तिक १२, २०७९

अपाङ्गताले नरोकेको स्वरोजगार कर्म

 

बागलुङ । जन्मेको छ महिनामा बागलुङको बानपा–५ पन्चासेका रत्नबहादुर खड्काको देब्रे खुट्टा अगेनामा पोलियो । उपचार अभावमा खुट्टाका सबै औंला झरे । जन्मेको छ महिनामा अपाङ्गता हुनुभएका ७९ वर्षका खड्काको जीवन सङ्घर्षले भने अझै विश्राम लिएको छैन । 


अहिले पनि उहाँ लौरोको सहाराले बाख्रासँगै बनपाखामा भेटिनुहुन्छ । खड्काले जीवन निर्वाहका लागि ३२ वर्षको उमेरदेखि राँगो पाल्दै आउनुभएको छ भने १० वर्षदेखि बाख्रा । पैंतालीस वर्षदेखि ब्याठे राँगो पाल्दै आउनुभएका खड्काले राँगोको बाहालबाटै परिवारको लालनपालन र शिक्षादीक्षा गर्न सफल हुनुभएको छ । 


“४५ वर्षअघि रु १० राँगोको शुल्क थियो, अहिले एक हजार पाँच सय पुग्यो, अहिले ८५ हजारमा बीउ राँगो खरिद गरेर ल्याएको छु”, उहाँले भन्नुभयो, “अहिले वर्षमा एक सय २० भन्दाबढी गाउँका भैँसीलाई गर्भाधान मेरै राँगोबाट भएको छ, पछिल्लो १० वर्ष यता बाख्रापालनसमेत गर्दै आएको छु, अहिले १० वटा बोका बाख्रा छन्, यिनैको स्याहारसुसार गर्दै दिन बित्छ ।”


खुट्टाको अपाङ्गता भए पनि ७९ वर्षका खड्काको जोस र जाँगर अझै उस्तै छ । उहाँले भारी बोक्न बाहेक अन्य काम लौरोकै सहायताले गर्दै आउनुभएको छ । राँगो पालेर एक छोरी र दुई छोरा हुर्काएको स्मरण गर्दै खड्का सकुन्जेल राँगो पाल्ने योजनामा रहेको सुनाउनुहुन्छ । “अपाङ्गता भए पनि त्यसबेला लाउन खान समस्या नै थियो, अहिले जस्तो सुविधा थिएन, राँगोको बाहालवापत कतिले रकम दिन्थे त कतिले अन्नपात”, उहाँले भन्नुभयो, “७० नपुगुन्जेल महिनाको पाँच सय अपाङ्गता भत्ता आउँथ्यो, अहिले तीन महिनाको १२ हजार वृद्धभत्ता आउँछ, एउटा छोरा कतार छ, एउटा छोरा मसँगै छ, वृद्धभत्ताले बुढेसकालमा सहयोग गरेको छ, तर बाख्रा र राँगो पाल्न सकुन्जेल छोड्दिन नसकेपछि हेरौँला ।”


अगेनामा पोलेको खुट्टा उपचार नपाएका कारण आफू अपाङ्गता भएर लौरोको सहायता लिनुपरेको उहाँको दुःखेसो छ । एक वर्षअघि ८५ हजारमा खरिद गरेर ल्याएको राँगोले गाउँका भैँसी गर्भधारण गरेवापत एक लाख ८० हजार कमाएको खड्काको भनाइ छ । 


उहाँले बाख्राका दुईवटा बोका बेचेर ४५ हजार यही सिजनमा कमाई गरेकाले घर खर्चका लागि समस्या नभएको बताउनुभयो । कान्छो छोरा कतार र छोरीको विवाह भइसकेको बताउने खड्काले जेठो छोरा भरत खड्का आफ्नो सहयोगीका रुपमा रहेको बताउनुभयो । 


“राँगोलाई डोर्याउन पर्दैन, आफैँपछि लागेर हिड्छ, बाध्ने र फुकाउने अनि भैँसीको गोठसम्म पुर्याउने मात्रै हो”, खड्काले भन्नुभयो, “युवादेखि बुढेसकालसम्म राँगोकै सँगतले जीवन बित्न लाग्यो, तर मनमा सन्तोक छ, अपाङ्गता भएरसमेत कसैसँग हात थापेर खान परेन, खुसी लाग्छ ।” खड्काले तीन र चार वर्षमा उन्नत जातको राँगो फेर्दै आउनुभएको छ । 

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्