देउसी भैलो खेल्दा ‘मकैका झुत्ता’ दक्षिणा
पाेखरा | कात्तिक ८, २०७९
पोखरा : तिहारमा देउसी भैलो, शहर होस् या गाउँ, विभिन्न उमेर समूहका देउसी भैलोले चोक र घरका आँगनी खाली छैनन् ।
तिहारको पहिलो दिनदेखि नै पोखराको विभिन्न चोक तथा घरहरुमा दिनानुदिन देउसी भैलो खेल्न आउँछन् । त्यही देउसी भैलोका समूहमा भेटिए पर्वतका ६८ वर्षीय कान्छा गुरुङ ।
पोखराको पृथ्वीचोकमा एक समूह देउसी भैलोको ब्यानरसहित नाचिरहेका थिए । यही मेसोमा उनले मुस्कुराउँदै सुनाए ‘उमेर अनुसार समय पनि परिवर्तन भएछ, मादलको तालमा नाच्ने हामीहरु । रेकर्ड गरेका गीतमा देउसी भैलो खेल्ने अचेलका युवाहरु ।’
कान्छा गुरुङ पोखरा बसाईसराई गरेको ४० वर्ष भयो । देउसी भैलो रिपोर्टिङकाक्रममा भेटिएका उनले अहिलेको देउसी भैलोको भन्दा आफ्नो पालाका देउसी भैलो फरक रहेको बताए ।
‘हाम्रो पालामा यस्तो साउण्डसिस्टम थिएन’, उनले भने, ‘मादल दम्फु, खैजडीको तालमा देउसी रे, भैलो भन्दै खेल्थ्यौं । अचेल साथीहरु कहाँ होलान् ? बसाईसराईले गाउँमा भैलो खेल्ने मान्छे होला कि नहोला, त्यो दिनको झल्को आँखामा घुम्छन् ।’
उनले देउसी भैलो खेलेवापत आफुहरुलाई दानस्वरुप नगद हुनेले नगद, नहुनेले मकैको झुत्ता दक्षिणास्वरुप पाएको सुनाए ।
‘अहिले जस्तो देउसी भैलोमा दानमा नगद नै दिनुपर्छ भन्ने थिएन, हाम्रो पालामा नगद हुनेले नगद दिन्थे नहुनेले मकैको झुत्ता, अहिले जस्तो पैसा सबैको साथ थिएन, जे दिए पनि हामी खुशी हुन्थ्यौं’ कान्छा गुरुङले भने ।
पृथ्वीचोकमा पिपलको रुखको आड लगाएर देउसी भैलो हेरिरहेका उनले दिनभर खेतीपाती र गोठको धन्दा सकाएर मात्र आफुहरु देउसी भैलो खेलेको अनुुभव सुनाए ।
‘अहिले जस्तो समय थिएन दिनभर खेतीपाती गथ्थौं, वस्तुभाउलाई २ दिन पुग्ने घाँस काटे मात्र देउसी भैलो खेल्नी समय पाइथ्यो’ उनले भने, ‘समय अनुसार देउसी भैलो खेल्ने समय पनि परिवर्तन भएछ ।’
यता जिल्ला प्रशासन कार्यालय कास्कीले भने सुरक्षाको कारण देखाउँदै बेलुका ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

