सबै मतदान केन्द्रमा पुग्यो कर्मचारी र मतदान सामग्री

काठमाडाैं | बैशाख २८, २०७९

सबै मतदान केन्द्रमा पुग्यो कर्मचारी र मतदान सामग्री

काठमाडौँ, स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ७५३ पालिकाका १० हजार ७५६ मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले “मतदान अधिकृत र सामग्री नपुगेको कतैबाट जानकारी नआएकाले निर्वाचन कार्यक्रमबमोजिम मङ्गलबार नै मतदान केन्द्रसँग सम्बन्धित काम अगाडि बढेको” जानकारी दिनुभयो । आयोगको कार्यक्रमबमोजिम वैशाख २७ गते २१ हजार ९५५ वटै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसक्नु पर्नेछ । देशभरका मतदान केन्द्रमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक परिचालन हुनेछन् ।

 

मौन अवधि मङ्गलबार मध्यरातिबाट सुरु भएको छ । त्यसअघि मतदान अधिकृतले सोही दिन मतदान केन्द्र तोकिएको सूचना प्रकाशित गर्नेसहित पाँचवटा अनुसूचीबमोजिमको गतिविधिलाई पूर्णता दिएका छन् । निर्देशिका अनुसार मतदान केन्द्र÷मतगणना स्थल रहेको ठाउँको वरिपरि हातहतियार लिएर हिँड्न निषेध गरेको, प्रचारप्रसार गर्न निषेध गरेको, मतदान केन्द्र रहेको ठाउँको वरिपरि शान्ति भङ्ग  नगर्ने

 

तथा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशित गरेका छन् । बूढानीलकण्ठ नगरपालिकाका सहायक निर्वाचन अधिकृत गणेश पौडेलले पालिकाअन्तर्गतका सबै मतदान केन्द्रमा पाँचवटै सूचना जारी गरी बुधबार सर्वपक्षीय बैठकको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले बुधबार र बिहीबार मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा कार्यक्रम गरिने बताउनुभयो । 

 

काठमाडौँसहित सुगम मतदान स्थलमा भने निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार मात्रै मतपत्र पु-याइनेछ । आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “काठमाडौँसहित अन्य सुगम मतदान केन्द्रमा समेत बिहीबार मात्रै मतपत्र लगिनेछ ।”

 

छाङ्रु, तिङ्कर र दुम्लिङ पुगे मतदान अधिकृत मतदान केन्द्र पुग्न सबैभन्दा कठिन मानिएको दार्चुलाको व्यास गाउँपालिका अन्तर्गत सबै मतदान केन्द्रमा मतदान अधिकृत मतदान सामग्री लिएर पुगेका छन् । व्यास गाउँपालिकाका निर्वाचन अधिकृत कौशल ज्ञवालीले छाङ्रु र तिङ्करस्थित मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट सोमबार नै मतदान अधिकृत र सामग्री पु¥याइएको जानकारी दिनुभयो । 

 

“पैदल हिँडेर पुग्नुपर्ने दुम्लिङ केन्द्रमा समेत मङ्गलबार राति ९ बजे मतदान अधिकृत सामग्री लिएर पुगेका छन्,” उहाँले थप्नुभयो । व्यास गाउँपालिकाको केन्द्रबाट छ घण्टा पैदल हिँडेर मतदान अधिकृतसहितको टोली दुम्लिङसम्मको यात्रा तय गरेको निर्वाचन अधिकृत ज्ञवालीले बताउनुभयो । सात हजार ८०४ मतदाता रहेको व्यास गाउँपालिका अन्तर्गत ११ मतदान स्थलमा १३ वटा केन्द्र तोकिएका छन् । 

 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता रहेका सबै मतदान केन्द्रमा मतदान हुने प्रस्ट्याउनुभएको छ । कालापानी र लिम्पियाधुरामा मतदान हुन्छ त ? भन्ने जिज्ञासामा प्रमुख आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका छ हजार ७४३ वडाको मतदाता नामावलीमा नाम हुने सबै केन्द्रमा आयोगले मतदान हुने गरी व्यवस्था गरेको जानकारी दिनुभयो । निर्वाचन अधिकृत ज्ञवालीले सबै मतदान केन्द्रमा मतदान अधिकृत, मतपत्र र मतपेटिकासहित ५७ प्रकारका सामग्री पुगेको प्रस्ट्याउनुभयो ।  

काठमाडौं:     पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा म...

थप पढ्नुहोस्

पोखरा:     यूनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।  क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी...

थप पढ्नुहोस्

पोखरा:    मिस नेपालको पोखरा अडिसन भोलिदेखि सुरु हुने भएको छ । ‘मिस नेपाल २०२४’ को चितवन अडिसन सम्पन्न भएसँगै पोखरामा भोलिदेखि अडिसन लिन लागेको हो ।  पोखरामा आयोजित पत्र...

थप पढ्नुहोस्