आज नेपालमा किन मनाइँदैछ गधा दिवस ?

काठमाडाैं | बैशाख २५, २०७९

आज नेपालमा किन मनाइँदैछ गधा दिवस ?

काठमाडौँ,  सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ ?’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ ।

 

मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पु-याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने उद्देश्यले यस वर्षदेखि सप्ताहव्यापी गधा दिवस मनाउन लागेको छ । तराईदेखि हिमालसम्म विशेषगरी सामान ढुवानीका लागि प्रयोग गरिने यस्ता जनावरलाई सकुन्जेल काम गराउने र काम गर्न नसक्ने भएपछि छाडा छाड्ने प्रवृत्तिले ती जनावरको वंशविनाश हुनेसम्मको समस्या पर्ने गरेको बताइएको छ । 

 

हाल नेपालमा गधा, खच्चर र घोडा एक लाख ५० हजारभन्दा बढीको सङ्ख्यामा ढुवानी व्यवसायका लागि प्रयोगमा रहेको सो संस्थाले जनाएको छ । सो संस्थाले ललितपुर जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत डुकुछापमा समस्यामा परेका, घाइते, बूढा भइसकेका खच्चर, गधा तथा घोडाको स्याहार केन्द्र स्थापना गरेको छ । विशेषगरी काठमाडौँ उपत्यकाका इँटा उद्योगमा काम गराउन भित्रिएका गधा, खच्चर तथा घोडा अशक्त, वृद्ध तथा घाइते भएपछि सडकमा छाड्ने गरिएको छ । समस्यामा परेका त्यस्ता जनावरलाई स्याहार केन्द्रमा लगेर पालन गर्ने गरिएका संस्थाका प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो । 

 

उहाँका अनुसार केन्द्रमा पौष्टिक आहार प्रदान गर्ने तथा उपचार गर्ने गरिएको छ । हाल केन्द्रमा ५० भन्दा बढी समस्यामा परेका गधा, खच्चर र घोडा संरक्षण गरिँदै आएको छ । घोडा, खच्चर, गधा विशेषज्ञ डा. सजना थापाका अनुसार यी जनावरले काम गर्न सकुन्जेल काममा लगाउने र अशक्त, रोगी भएपछि जथाभावी छाड्ने प्रवृत्तिले ती जनावरको बाँच्न पाउने अधिकारको हनन हुने गरेको बताउनुभयो । उहाँले गधा दिवसका अवसरमा यी जनावरले पु-याएको योगदानबारे सचेतना जगाउने, यी जनावरबारे अध्ययन अनुसन्धान गर्न चाहने विश्वविद्यालयका प्राध्यापक, विद्यार्थीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । 

 

अर्का विशेषज्ञ डा. अतिश यादवका अनुसार इँटा व्यवसाय र उच्च हिमाली क्षेत्रको सम्पूर्ण जनजीवनका लागि यातायातको सेवा प्रवाह गर्दै आएका यी जनावरको योगदानलाई सरकारले अध्ययन अनुसन्धान गरी यिनको बाँच्न पाउने अधिकारको सुरक्षा गर्नुपर्ने बताउनुभयो । नेपालबाहेक बेलायत, इजिप्ट, भारत, पाकिस्तानलगायतका अफ्रिकी मुलुकमा ढुवानीको साधनमा प्रयोग हुने यी जनावरको हक–अधिकारका लागि काम हुँदै आएको छ । बेलायतले त अन्य मुलुकमा समस्यामा परेका गधा, खच्चर तथा घोडालाई ल्याएर संरक्षण, हेरचाह गर्ने गरेको सो संस्थाले जनाएको छ । 

गाेरखापत्रबाट साभार

 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्