१४ वर्ष पछि पुगेको विद्युत् सुविधाले दिएको खुसी
पाल्पा | असोज ६, २०७९
पाल्पा । निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि रु सात हजार रकम १४ वर्ष अघि बुझाउनुभयो । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो ।
धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी हुनुहुन्छ । घरमा आफैँले स्वीच थिचेर बत्ती बलेपछि उहाँको १४ वर्षपछि भए पनि विद्युत् सुविधा उपभोग गर्ने मनको तिर्सना मेटिएको छ । “बत्ती बाल्नका लागि सुरुमा नै पैसा बुझाइयो, तर काममा ढिलाइ हुँदा बत्ती कहिले आउँला भनेर धैर्य गरेर बसेको थिए, मेरो मनको इच्छा पूरा भयो”, उहाँले भन्नुभयो, “अहिले त गाउँका सबै घरमा बिजुली बल्दा रमाइलो देखिएको छ ।”
रम्भा गाउँपालिका–३ अगाहाखोलाबाट ल्याइएको विद्युत् लाइन पूर्वखोला गाउँपालिका–१ सिलुवामा रहेको सव–स्टेशनबाट ल्याइएको विद्युत् लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थामार्फत वितरण भइरहेको छ । लामेदमार, गोडडाँडा, डेलखरक र मतियारडाँडाका ५२ घरधुरीमा अहिले विद्युत् सेवा पुगेको सामुदायिक विद्युतीकरण लामेदमार ट्रान्समिटर उपभोक्ता समितिका अध्यक्ष चित्र सिं आलेले बताउनुभयो । उहाँका अनुसार विद्युत् सेवा नपुगेका पोखरडहर र फोक्सीबासका २९ घर, खोर्मोकमा सात घरमा विद्युत् लाइन पुगिसकेको र केही घरमा वायरिङको काम बाँकी रहेकाले छिटो काम सम्पन्न गरी बिजुली बाल्ने तयारी भइरहेको छ । निस्दी–४ को मुढाबास, डुडीदमारामा विद्युत्को प्रक्रिया अगाडि बढाइएको छ ।
“निस्दीमा २०६६ सालदेखि विद्युतीकरणको काम अगाडि बढाइयो, उपभोक्ताले समितिलाई समयमा नै रकम नबुझाउने, ग्रामीण क्षेत्रमा भनेको समयमा सामान भित्र्याउन नसक्नुलगायत विविध कारणले विद्युत् विस्तारको काममा ढिलाइ हुन पुग्यो”, उहाँले भन्नुभयो ।
विद्युत् सुविधाले यहाँका स्थानीय उत्साहित छन् । पाल्पाकै विकट र दुर्गममा पर्ने सो गाउँका नागरिक विद्युत् अभावमा विभिन्न समस्यासँग जुध्दै जीवन व्यतीत गरिरहेका थिए । बिजुलीको सुविधाले विद्यालयमा पठनपाठनमा आधुनिक प्रविधिका सामग्रीको प्रयोग, घरमा खाना पकाउन, मोबाइल चार्ज तथा बालबालिकालाई पठनपाठनमा राहत पुगेको छ ।
सरकारले डिजेलको मूल्यवृद्धि गरेपछि यहाँका स्थानीयले कुटानीपिसानीमा महँगो शुल्क तिर्नुपर्दा मर्कामा परेको गुनासो छ । अब भने विद्युत् लाइनको सुविधाले धेरै राहत मिल्नेछ । डिजेलको भाउँ बढेसँगै गाउँमा सञ्चालित साना उद्योग धराशायी बन्दै गएका थिए । अब भने यहाँ साना उद्योग तथा व्यावसाय फस्टाउनेछन् ।
विशेष गरी यस क्षेत्रमा उत्पादन हुने सूर्यमुखी र तोरी प्रशोधनका लागि गाउँमा विद्युत् अभावमा यसअघि अरुणखोलामा जानुपर्ने स्थानीयलाई बाध्यता थियो । गाडीमा आवतजावत र प्रशोधन गर्ने ज्यालाले लागत नै उठाउन धौधौ हुन्थ्यो । सोलार बत्ती प्रयोग गर्दा बेला बेलामा ब्याट्री परिवर्तनमा खर्चिलो र आवश्यकताअनुसार प्रयोग गर्न नपाइनेजस्ता समस्या स्थानीयले खेपिरहेका थिए । अब बिजुलीको सुविधाले चौबिसै घण्टा ढुक्कले सुविधा उपभोग गर्न पाइने भएको छ ।
लामेदमार ट्रान्समिटरअन्तर्गत यहाँको लामेदमार, बेलखरक, गोठडाँडा, खोरमोक, रिपाहा, पोखरादहर र थोक्सिबास गाउँका करिब एक सय घरमा एकै पटक बत्ती बाल्ने योजना छ । केही टोलमा वायरिङको काम नसककिएकाले एकै चरणमा गाउँमा बत्ती बाल्न नपाए पनि छिट्टै बाँकी टोलमा बत्ती बाल्ने कार्यक्रम उपभोक्ता समितिको छ । निस्दीका केही गाउँमा चार वर्ष अघिदेखि नै बिजुली पुगेको छ । बजारदेखि टाढा र ग्रामीण भेग रहेको हुँदा आवश्यक सामग्री समयमा नै गाउँमा लैजान नसक्दा काममा ढिलाइ भएको हो । कतिपय स्थानमा भने विद्युत् पोल पनि पुग्न नसकिएको अवस्था छ ।
निस्दी गाउँपालिकाका सात वडामध्ये १ र २ बाहेक अन्य सबैमा बिजुली बत्ती पुर्याउने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले लिएको छ । संस्थामार्फत चरणबद्ध रुपमा विद्युतीकरणको काम अगाडि बढिरहेको सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले बताउनुभयो ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

