अन्नपूर्ण आधार शिविरमा धेरै पर्यटक आएपछि...
म्याग्दी | असोज २३, २०८२
FILED PHOTO
म्याग्दी: मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमताभन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।
आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।
पदमार्ग तथा आधार शिविरका टेन्ट र आश्रयस्थलको भवनमा एक दिनमा ५० जनासम्म बास बस्ने क्षमता छ । दैनिक एक सय ५० जनाभन्दा बढी पर्यटकहरु आउन थालेपछि आवास व्यवस्थापनमा कठिनाइ भएको अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताउनुभयो ।
“अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले पक्की संरचना बनाउने अनुमति नपाइने भएकाले गाउँपालिकासँग समन्वय गरेर गत वसन्त यामदेखि टेन्ट टाँगेर पर्यटकलाई खाने, बस्ने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो “क्षमताभन्दा तीन गुणा बढी पाहुनाहरु आउन थालेपछि समस्या भएको हो ।”फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा स्थानीयबासीले गत वैशाख महिनादेखि स्थायी संरचना बनाएर पाहुनालाई खाना, खाजा खुवाउने र सुत्ने व्यवस्था मिलाएका छन् । अपेक्षा गरेको भन्दा धेरै सङ्ख्यामा पर्यटक आएकाले व्यवस्थापनका लागि टेन्टको सङ्ख्या थप गर्न लागिएको पुर्जाले बताउनुभयो ।
होटल तथा लजको सुविधा नभएकाले यसअघि खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत समान आफैँले व्यवस्था गर्नुपर्ने समस्या थियो । आधार शिविरको भ्रमण गरेर आउनुभएका बेनीका सन्दीप खत्रीले तीन जनाको क्षमता भएको टेन्टमा सात जना सुत्नुपरेको बताउनुभयो ।
मानव बस्तीदेखि टाढा रहेको उक्त क्षेत्रमा सञ्चार, विद्युत् अभाव र आवास व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो । अर्का पदयात्री बिशाल खत्रीले भुसकेतदेखि आधार शिविर सम्मको तीन घण्टाको पदमार्गमा संकेत चिन्हहरुको आवश्यकता महसुस गरेको अनुभव सुनाउनुभयो ।
मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।
छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोँच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।
पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै वि।सं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि।स। २०७७ मा मौरिस हर्गोज नामकरण गरी खुलाएको थियो ।
अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु. पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको र थप पूर्वाधार निर्माणका लागि पहल गरेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

