नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र
बाग्लुङ | असार २०, २०८२
गलकोटः विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ ।
काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसेको १७औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत रूपमा पालिकाको भवन बनाउने स्थानको टुङ्गो लगाएको हो ।
बागलुङका १० पालिकामध्ये नौ पालिका आफ्नै भवनमा रहँदा बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र विवादले गर्दा प्रशासकीय भवन निर्माण हुनसकेको थिएन । भवनका निर्माणका लागि स्थान छनोटमा सहमति नजुट्दा अहिलेसम्म गाउँपालिका भाडाकै घरमा सञ्चालनमा हुँदै आएको छ ।
काठेखोला गाउँपालिका–२ अक्षते र वडा नं ६ को सुल्डाँडा स्थानीय जग्गा उपलब्ध गराउन राजी भए पनि निर्वाचित जनप्रतिनिधिको मत बाँझिदा समस्या भएको थियो ।
यही असार १० गते १७औँ गाउँसभाको दोस्रो बैठकमा पालिकाको केन्द्र टुङ्ग्याएर भवन बनाउने विषयमा मतदानसमेत भएको थियो । मतदानका क्रममा समेत अक्षते र सुलल्डाँडा कुनै पनि ठाउँका लागि दुईतिहाइ मत प्राप्त हुन सकेन ।
अक्षतेमा प्रशासकीय भवन निर्माण गर्न १५ जना र सुल्डाँडामा बनाउनुपर्छ भन्ने पक्षमा २५ मत परेको थियो । ४३ जना कार्यपालिका रहेको काठेखोलामा दुई जना अनुपस्थित थिए ।
बहुमत नपुगेपछि असार १८ गते सर्वदलीय बैठक बसेर पालिकाको प्रशासनिक केन्द्र अछेते र सुल्डाँडालाई मान्ने र पालिकाको भवन काठेखोला गाउँपालिका–६ स्थित आमपाटामा निर्माण गर्ने सहमतिपश्चात बिहीबार बसेको १७औँ गाउँसभामा सर्वसम्मत रूपमा पास भएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।
‘स्थापनाको नौ वर्षमा गाउँपालिकाको भवन निर्माण गर्ने स्थानको टुङ्गो लागेको छ, आमपाटामा स्थानीयले छ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्, आगामी वर्ष पालिकाको भवन निर्माण गर्न थालिन्छ’, अध्यक्ष थापाले भने, ‘राजनीतिक दलको एकताका कारण निर्वाचनपछि समेत नटुङ्गिएको भवन निर्माणस्थल सर्वसम्मतिमा टुङ्गो लागेको हो, पालिकाले अहिले मासिक रु ६० हजार तिरेर सुल्डाँडाबाट सेवा दिँदै आएको छ ।’
गाउँपालिकाले सुल्डाँडाका आधा दर्जन घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । पालिकाको आफ्नै भवन नहुँदा हरेक वर्ष रु सात लाख बढी घरभाडा तिर्दै आएको छ । बागलुङका अन्य नौ पालिकाले आफ्नै भवन बनाइसकेका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

