ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ: ईश्वर पोखरेल
पाेखरा | चैत ३०, २०८१
पोखरा: नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ ।
कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो ।
‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयो ।
अराजकताबादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो ।
देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोस“ग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताउनुभयो । ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार (पूर्वराजालाई) बनाउने छौं,’ उहाँले भन्नुभयो ।

उहाँले लोकतन्त्रको विकल्प वंश परम्परा र अनिर्वाचित सत्ता हुन नसक्ने बताउनुभयो ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने उहाँको भनाइ थियो । राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलले दाबी गर्नुभयो ।
‘हिजो बाटो, स्कुल र अस्पतालको अवस्था के हो ? हिजो २५१ डलर प्रतिव्यक्ति भएकोमा अहिले १४ सय डलर पुगेको कसरी बिर्सन सक्छौं,’ उहाँले भन्नुभयो, ‘हिजो र आजको तुलना गर्दा यी सबै कुरा हेर्न आवश्यक छ ।’
उहाँले आगामी निर्वाचनमा एक्लै लड्ने गरी मानसिकता बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दै उहाँले ‘म्याजिक नम्बर’मार्फत अस्थिरता पैदा भएकाले त्यसको अन्त्य गर्न तत्काललाई कांग्रेससँग मिल्नुपरेको पोखरेलले बताउनुभयो ।
शिक्षा विधेयक र निजामति सेवा विधेयक वर्तमान सरकारले बर्खे अधिवेशनबाट पारित गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो ।
‘शिक्षकका माग जुन छन् ती मागलाई सम्बोधन गर्ने हिसाबले आउने बर्खे अधिवेशनमा पहिलो चरणमै त्यो शिक्षा विधेयक ल्याउने छौं र पास गर्ने छौं । समितिमा छलफल चलिरहेको कुरा भएको हुनाले त्यसलाई टुंगिने प्रक्रिया हुन्छ,’ उहाँले भन्नुभयो । आन्दोलनरत शिक्षकले वार्तामार्फत समाधान खोज्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
एमाले कास्कीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध शनिबार पोखरामा जागरण सभा गरेको हो । सभाअघि पोखराका ३ ठाउँबाट विशाल ¥याली निकालिएको थियो ।

सभामा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, स्थायी कमिटी सदस्य थममाया थापालगायतले बोल्नुभएको थियो ।
एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम सचिव दर्शन लामाले सञ्चालन गर्नुभएको थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

