जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम
म्याग्दी | चैत १२, २०८१
म्याग्दी: मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर सङ्कटमा पर्नुका साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ ।
धवलागिरि कालिका हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको मालिका गाउँपालिका–६ कमेरेस्थित अडित नम्बर २ मा विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्किएको ढुङ्गा, माटो नीतिगत व्यवस्थाविपरीत धार नै परिवर्तन हुने गरेर म्याग्दी नदी र किनारमा फालेको हो ।
खोलामा मकिङ फाल्न थालेपछि म्याग्दी नदीमा माछालगायत जलचर पाइन छाडेको र बर्खायाममा बाढीको आयतन बढेर दरवाङ, बाबियाचौर, तातोपानी, सिङ्गा र बेनीमा कटानको जोखिम सृजना गरेको स्थानीयले गुनासो गरेका छन् ।
विस्फोटक पदार्थ मिसिएको ढुङ्गा माटोमा हुने रासायनिक पदार्थ जलचरका लागि प्रतिकूल हुने भएकाले नदीभन्दा बाहिर छुट्टै जग्गामा थुपार्नुपर्ने कानुनी व्यवस्था छ ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले खोलामा फालेको र किनारमा थुपारेको मकिङ अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो । “जलविद्युत् आयोजनाको मकिङ जथाभावी फाल्दा वातावरणमा असर पर्छ, फोहर हटाउन निर्देशन दिएको छु”, उहाँले भन्नुभयो ।
दरवाङ म्याग्दीखोलाको सुरुङबाट निस्किएको मकिङ गोज्जा, कमेरे, दरवाङ र ढाँडखर्कको पाखो, नदी किनार र सिधै खोलामा फाल्ने गरेको छ । आयोजनाका निर्देशक तेजेन्द्र रोकाले खोलामा मकिङ फाल्नु कमजोरी भएको स्वीकार गर्दै जग्गा खोजेर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

