दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग

काठमाडाैं | चैत ७, २०८१

दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग

काठमाडौं:  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गर्नुभएको छ । 


बैठकमा समय लिएर सांसद जीवन परियारले औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन गर्न माग गर्नुभयो । 
  
    
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने व्यवस्था संयुक्त राष्ट्रसङ्घले गरेको उल्लेख गर्दै उहाँले बुधबार सिराहाको औरहीमा जातीय विभेदको घटना भएकामा आपत्ति जनाउनुभयो । 


पुनःस्थापित प्रतिनिधिसभाबाट जातीय भेद्भाव उन्मूलन घोषणा गरेको पनि १८ वर्ष पुगेको अवस्थामा यस्तो घटना हुनु दुःखद् रहेको उल्लेख गर्दै सांसद परियारले उक्त घटनाका दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभयो । 

    
सांसद मनिष झाले सिराहाको औरहीमा भएको घटनामा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो । सांसद अब्दुल खानले औरहीका दीपक मलिक डोमको घर भत्काउने औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र महायज्ञका आयोजक बजरङ्ग बाबाले डोम परिवारको घर भत्काएर दलित समुदायको घरका सामग्री ओसारपसार गरेकाले कानुनी कारबाही गर्न माग गर्नुभयो ।  

    
सांसद अमरेशकुमार सिंहले दलित र महिलामाथि शृङ्खलाबद्ध रूपमा अत्याचार हुँदा पनि केन्द्रीय र प्रदेश सरकारले किन केही गरिरहेको छैन रु भनी प्रश्न गर्नुभयो । कति दलितमाथि भएका घटना सञ्चारमाध्यममा पनि नआएका उहाँले सुनाउनुभयो । 


“सिराहको औरहीमा घर भत्काउनुका साथै माटो पनि निकालिएको छ । यो विषयमा निष्पक्ष छानबिन गरी छुवाछुत गर्ने तीनै जनालाई कानुनी कारबाही गरियोस्”, उहाँले भन्नुभयो ।

    
सांसद सम्झना थपलियाले मुलुकलाई छुवाछुतमुक्त घोषणा गरिए पनि सिराहाको औरही गाउँपालिकाको आदेशमा दलित समुदायको घर भत्काउने विषयले संसद् मर्माहत भएको बताउनुभयो । 


उहाँले गृहमन्त्रीले यस विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गर्नुभयो । संसद् यो घटनाप्रति मूकदर्शक बन्न नहुने भन्दै उहाँले शक्तिशाली संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

    
सांसद रणेन्द्र बरालीले दलितमाथि गरिएको बर्बरताले सगरमाथाको टाकुरालाई नाघेको भन्दै औरही–५ का दीपक मलिकको घर भत्काउनु निन्दनीय काम भएको बताउनुभयो । मलिकको घर पाँच वर्षअघि प्रधानमन्त्री राहत कोषको बजेटबाट बनाइएको उहाँले जानकारी दिनुभयो । 

    
सांसद बरालीले विष्णु महायज्ञका आयोजक बाबा र गाउँपालिकका अध्यक्ष यादवद्वारा गरिएको उक्त घटनापछि त्यहाँका स्थानीय दलित समुदाय बोल्न पनि नसकेका बताउनुभयो । उहाँले गाउँपालिका अध्यक्ष यादवलाई निलम्बन गरी सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

     
सांसद अशोककुमार चौधरीले संवैधानिक व्यवस्था सामाजिक न्यायमाथि सिराहा औरहीको घटनाले प्रहार गरेको बताउनुभयो । यो घटनाले छुवाछुत अन्त्य भएको छ त ? भन्ने प्रश्न उब्जिएको उहाँको भनाइ छ । 


राज्यका संयन्त्र दलितमाथि प्रयोग गरिएको यो घटनाले पुष्टि गरेको उहाँले बताउनुभयो । सांसद चौधरीले यो घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गनुभयो ।

    
सांसद प्रभु हजाराले २१औँ शताब्दीमा छुवाछुतका घटना जघन्य अपराध भएको बताउनुभयो । मानवलाई छुवाछुतका नाममा घर भत्काउने बाबा, जनमत पार्टीका पालिका अध्यक्ष यादव र गाउँपालिकाका अध्यक्ष यादवलाई कानुनी कारबाही गर्न उहाँले माग गर्नुभयो ।

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्