स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै
खोटाङ | चैत ५, २०८१
खोटाङ: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ ।
नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो ।
नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न सुरु गरिएको नगरउपप्रमुख विशन राईले बताउनुभयो ।
“यस वर्ष चार सय राँगा वितरण गर्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो, “नगरपालिकाको कृषि कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । हालसम्म दुई सय राँगा वितरण गरिसहेका छौँ ।”
पन्ध्र वडा रहेको यो नगरपालिकाको वडा नं ३ बाम्राङमा रु १६ लाख, वडा नं ४ खाल्लेमा रु सात लाख, वडा नं ५ लफ्याङमा रु १२ लाख, वडा नं ७ दोर्पामा रु तीन लाख र वडा नं १५ विजयखर्कमा रु आठ लाख ५० हजार बराबरको राँगा वितरण गरिसकिएको छ । उक्त वडामा बाँकी रकमको समेत राँगा खरिद गरेर किसानलाई वितरण गरिने उपप्रमुख राईले जानकारी दिनुभएको छ ।
राँगा खरिद गरिएको कुल मूल्यको २५ प्रतिशत मूल्य किसान स्वयंले भुक्तानी गर्नेगरी राँगा वितरण कार्यक्रम तय गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो ।
कृषक समूहको खातामा रकम जम्मा गरिदिएपछि समूह आफैँले खरिद–ढुवानी तथा वितरण गर्ने गरिएको छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले विशेषगरी युवालाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले राँगा वितरण कार्यक्रम तय गरेको जनाइएको छ ।
राँगा तथा भैँसीपालनमार्फत मल पनि उत्पादन हुने हुनाले तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।
गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको छ ।
नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।
आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरिएको छ । नगरपालिकाको लगानीमा ती नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् ।
बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख जैसीले बताउनुभयो ।
नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा दैनिक ज्यालादारीका करिब एक सय जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रमअन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब भित्रिने अनुमान गरिएको उपप्रमुख राईले बताउनुभयो ।
“दिक्तेलमा उत्पादन भएको कफी स्थानीय बजारसँगै देशका विभिन्न सहरमा बिक्री गर्ने योजना छ । नेपालमा खपत नभएको कफी बेलायत पठाउँछौँ”, उहाँले भन्नुभयो, “प्रशोधन गर्दा त नेपालमै खपत भइहाल्छ । कतिपय कफी प्रशोधन नगरी सिधैँ बेलायत पठाउने छौँ । त्यसका लागि सम्झौता भइसकेको छ ।”
नगरपालिकाले सुरु गरेको किबीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत रोपिएका किबीले उत्पादनसमेत दिन थालिसकेका छन् । उत्पादित किबी सङ्कलन गरेर प्रशोधन गर्नेगरी वडा नं ६ नेर्पामा प्रशोधन केन्द्र स्थापना गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

