बाँझो बारी जोतेर कोदो उत्पादन
पर्वत | माघ ६, २०८१

पर्वत: जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो ।
नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदोखेती सुरु गरेको नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताउनुभयो ।
उक्त कार्यक्रमलाई उत्पादनसँग जोड्न यहाँको बाँझो जग्गालाई छनोट गरिएको भन्दै यो क्षेत्र विगतमा कोदोखेतीमा प्रख्यात रहनुका साथै उत्पादनयोग्य जमिन भएकाले पनि प्रशस्त उत्पादन हुने उहाँले उल्लेख गर्नुभयो ।
बसाइँसराइ, वैदेशिक रोजगारी र शिक्षाका लागि सहर केन्द्रित हुनु, सुविधाको पहुँच विस्तारले यस क्षेत्रको जमिन बाँझो बनेको र अन्य कारणले बाँझो बनेको सुवेदीले बताउनुभयो ।
बाँझो जग्गालाई सदुपयोग गरी करिब दुई सय रोपनी क्षेत्रफलमा खेती गरिएको जनाउँदै उहाँले पहिलो चरणमा गरिएको खेतीबाट १६ मुरी कोदो उत्पादन भएको उल्लेख गर्नुभयो ।
उत्पादित कोदोलाई पुरानो वडा कार्यालयमा भण्डारण गरी राखिएको छ । जसको मूल्य प्रतिपाथीको रु दुई सय ५० निर्धारण गरिएको छ । कोदोको नल करिब ४० भारी रहेको र त्यसको मूल्य प्रतिभारी रु चार सय कायम गरिएको रोजगार संयोजक सुवेदीले बताउनुभयो ।
यो मूल्यअनुसार कोदोको कूल रु ८० हजार र नलको रु १६ हजार गरी नगरपालिकाले रु ९६ हजार आम्दानी गरेको उहाँले जानकारी दिनुभयो ।
बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका सूचीकृत युवालाई यो कार्यक्रममा समावेश गरिएको थियो । युवालाई रोजगारीको अवसर प्राप्त हुनुका साथै बाँझो जमिनमा अन्नपात उब्जनी हुने भएकाले यो कार्यक्रम प्रभावकारी देखिएको रोजगार संयोजक सुवेदीले बताउनुभयो ।
स्थानीय हुमनाथ पौडेलले बनमारा र खरले भरिएको बारी सरसफाइ गरी थालिएको खेतीबाट यति धेरै कोदो फल्नुले जग्गा बाँझो छाड्न नहुने सन्देश दिएको बताउनुभयो । यो कार्यक्रमबाट गाउँका करिब २५ महिला र २० जना युवाले काम गर्ने अवसर पाएका उहाँले जानकारी दिनुभयो ।
राज्यले प्रदान गरेको शःसर्त अनुदानलाई स्थानीय तहले उद्देश्य अनुरूप बेरोजगारलाई रोजगार प्रदान गर्ने, उर्वर क्षमता भएको बाँझो जग्गाको सदुपयोग गर्ने र उत्पादित कृषि उपजको बिक्री गरी पालिकाको आन्तरिक आय वृद्धिका लागि यो अवधारणा तर्जुमा गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।
पालिकाको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको उल्लेख गर्दै उहाँले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेका अवस्थामा यो कार्यक्रमले बाँझो जमिन सदुपयोग हुन थालेको उल्लेख गर्नुभयो ।
कुश्मा नगरपालिकाले ‘नगरप्रमुखसँग रोजगार कार्यक्रम’ सञ्चालन गरेको छ । नगरका बेरोजगार जनशक्तिलाई विकास निर्माणमा परिचालन गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरिएको हो । सबै बेरोजगार युवालाई आफ्नो सीप र योग्यताअनुसारको कार्यक्रममा आवेदन दिन नगर कार्यालयले आग्रह गरेको छ ।
काठमाडौं: उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र ब...
मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहाद...
काठमाडौं: देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता ...