फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान
काठमाडाैं | माघ ४, २०८१
काठमाडौं: दलित महिला सङ्घ (फेडो)ले दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गरेको छ ।
फेडोद्वारा यहाँ आज आयोजित कार्यक्रममा फेडोका संस्थापक अध्यक्ष दुर्गा सोव र महासचिव रेणु सिजामतिले भर्खरै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनबाट निर्वाचित दलित समुदायका पत्रकारलाई सम्मान गर्नुभयो ।
फेडोले महासङ्घका उपाध्यक्ष उमित बागचन्द, सचिव प्रकाश धौलाकोटी, केन्द्रीय सदस्य रीता बुढाथोकी, पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका सचिव रमेश टमाटा, सोही प्रतिष्ठानका कार्यसमिति सदस्य ईश्वरी विश्वकर्मा र महासङ्घ भक्तपुर जिल्लाका कार्यसमिति सदस्य अन्जितसिंह विकलाई सम्मान गरेको छ ।
सोही अवसरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का उपाध्यक्ष सोवले विषयवस्तु र सहभागिताका हिसाबले सरकारी र निजी क्षेत्रका आमसञ्चारमाध्यम समावेशी बन्नुपर्नेमा जोड दिनुभयो ।
“दलित समुदायबाट पत्रकार महासङ्घको पदाधिकारी र कार्यसमिति सदस्यमा निर्वाचित हुनुमात्र ठूलो कुरा होइन, दलित समुदायबाट प्रतिनिधित्व गर्ने पत्रकारले महासङ्घमा रहँदा आफ्नो कार्यकाल अवधिभित्र दलित समुदायका पत्रकारका लागि के काम गर्यो भन्ने महत्त्वपूर्ण कुरा हो, त्यसैले जो अहिले निर्वाचन जितेर महासङ्घमा पुग्नुभएको छ, उहाँहरू दलितका पत्रकारको हकहितको पक्षमा बढी लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
महासङ्घका नवनिर्वाचित उपाध्यक्ष बागचन्दले आफू महासङ्घमा रहुञ्जेल दलित समुदायका पत्रकारको हकहितसँगै समावेशिताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खासगरी सरकारी र निजी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तुसँगै भौतिक सहभागिाताको निम्ति काम गर्ने उहाँको भनाइ छ ।
महासचिव सिजापतिले नेपालको संविधानमै दलित समुदायको समानुपातिक सहभागिताको व्यवस्था गरेको सन्दर्भ उल्लेख गर्दै राज्यको चौथो अङ्ग सञ्चारमाध्यम सबै हिसाबले समावेशी बन्नुपर्ने धारणा राख्नुभयो ।
महिलावादी दलित सङ्गठन (फेडो) नेपालमा जातीय र लैङ्गिक भेदभाव उन्मूलन गर्ने जोशका साथ दलित महिलाको समूहद्वारा सन् १९९४ मा एक गैरलाभकारी, गैरराजनीतिक र धर्मनिरपेक्ष गैरसरकारी संस्थाको रूपमा स्थापना भएको थियो ।
यो दलित अधिकार र महिला अधिकारको एकैसाथ वकालत गर्ने अग्रणी संस्था हो । यो लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा एक प्रमुख स्रोत सङ्गठनको रूपमा खडा छ । ‘न्यायपूर्ण र समतामूलक समाज’को दर्शनका साथ फेडोले दलित महिलाहरूलाई आफ्नो पहलको केन्द्रविन्दुमा राख्दै आएको छ ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

