रहरले नभई आवश्यकताले अध्यादेश ल्याइएको मन्त्री गुरुङको स्पष्टोक्ति
संविधानले दिएका सबै अधिकार सदुपयोग गर्न मगर समुदाय आग्रह
काठमाडाैं | माघ १, २०८१
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभइ आवश्यकताले अध्यादेश ल्याएको बताउनुभएको छ ।
नेपाल मगर सङ्घले आज काठमाडौँको टुँडीखेलमा आयोजना गरेको माघेसङ्क्रान्ती पर्वको उद्घाटन गर्दै उहाँले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरूरी रहेको धारणा राख्नुभयो ।
सरकारका प्रवक्ता मन्त्री गुरुङले नेपालमा विकासका काममा अवरोध सिर्जना गर्ने थुप्रै जटिल कानुनी प्रक्रिया रहेको र प्रक्रियागत कानुन बनाउन छ वर्षभन्दा बढी समय लाग्ने गरेको बताउनुभयो ।
“यसरी कानुनी प्रक्रियामै अल्झिदा विकासमा अड्चन आइरहेको छ । यसले जनताको सेवामा बाधा पुग्नाका साथै मुलुकको विकासमा अवरोध सिर्जना हुँदै आएको थियो”,उहाँले भन्नुभयो,“त्यसै कारण जनतालाई सेवा सुविधा दिने कुरामा सहज होस् भनेर सरकारले अध्यादेश ल्याएको हो ।”
मन्त्री गुरुङले अध्यादेशले सूचना प्रविधि (आइटी) सम्बन्धी व्यवसाय गर्नेहरुलाई सहज वातावरण सिर्जना गर्ने र विदेशी कम्पनीसँग ऋण लिन पाउने व्यवस्थाले व्यवसायको विकासमा प्रोत्साहन मिल्ने जिकिर गर्नुभयो ।
यस्तै, उद्यमीले सहुलियत पाउने, काममा आएका झन्झट, सार्वजनिक प्रशासनिक सेवाको ढिलासुस्ती हटाउन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न अध्यादेश ल्याउनु परेको उहाँले प्रष्ट पार्नुभयो ।
“अब उपरान्त तपाई कुनै सरकारी कार्यालयमा पुग्नुभयो र तपाईको काम सात दिनभित्र पूरा गरेन भने स्पष्टीकरण दिनुपर्ने वा कारबाही गरिनेलगायत प्रबन्ध गरेका छौँ,” उहाँले भन्नुभयो, “गाउँपालिका वा नगरपालिकामा अध्यक्ष र उपाध्यक्ष निलम्बन भए भने कसले प्रशासन चलाउनेरु यस्तो बेलामा गाउँ कार्यपालिका सदस्यहरू आफूमध्येबाट जुन व्यक्तिलाई छनोट गर्छ त्यसैले पालिका चलाउन पाउने व्यवस्था राखेका छौँ ।” यसले जनताको सेवामा आउने अवरोध हटाउने मन्त्री गुरुङको विश्वास छ ।
संविधानले दिएका सबै अधिकार सदुपयोग गर्न मगर समुदाय आग्रह
कार्यक्रममा मन्त्री गुरुङले आदिवासी जनजातिले संविधानप्रदत्त अधिकारको भरपुर सदुपयोग गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले आदिवासी जनजातिले गरेका शान्तिपूर्ण आन्दोलनको प्रतिफलस्वरूप संविधानले थुप्रै अधिकार सुनिश्चित गरेकाले त्यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री गुरुङले अहिलेको अवस्था हेर्दा संविधानले दिएका ती अधिकार प्रयोगमा आदिवासी जनजाति समुदाय चुकिरहेको धारणा राख्नुभयो । मगर समुदाय आदिवासी जनजातिभित्र सबै भन्दा ठूलो समुदाय भएको उल्लेख गर्दै उहाँले यस समुदायले राज्य एकीकरणदेखि हालसम्म राज्यप्रति दिएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
मगर समुदाय बाहुल्य गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलाई आफ्नो क्षेत्रमा यस समुदायको भाषा संरक्षणका लागि पहल गर्न मन्त्री गुरुङले आग्रह गर्नुभयो । “गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गर्न चाहन्छु, त्यहाँ मगर भाषाका लिपिलगायत महत्वपूर्ण पक्षको संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारी कामकाजको भाषाको रूपमा स्थापित र मान्यता दिनुपर्छ ।”
मन्त्री गुरुङले नेपाल बहुजातीय बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायको सांस्कृतिक पर्वको सम्मान गरेर सरकारले सार्वजनिक बिदालगायत प्रवर्द्धनात्मक काम गरिरहेको बताउनुभयो ।
“सरकारले नेपालमा बोलिने सबै मातृभाषाको सम्मान गरेको छ । धर्मनिरपेक्ष राज्यले सबै धर्मको सम्मान गर्छ । अब आदिवासी जनजातिले आफ्नो अधिकार प्रयोगमा ध्यान दिन आवश्यक छ”, उहाँको आग्रह थियो ।
काठमाडौं: आजदेखि नगद कारोबारमा ५ लाखको सीमा कायम भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबा...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मक) संक्रान्ति÷माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित ह...

