सुन्तलाको बजारीकरणमा सघाउँदै बागलुङ नगरपालिका

बाग्लुङ | पुस २२, २०८१

सुन्तलाको बजारीकरणमा सघाउँदै बागलुङ नगरपालिका

गलकोट:    सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । 


उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ । 


बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानाको गणेश कृषि सहकारीको नाममा ‘सिगानाको रसिलो सुन्तला’ लेखेको कार्टुन उत्पादन गरेर बजारीकरणमा सघाएको हो । 


नगरपालिकाले पहिलो चरणमा दुई हजार दुई सय कार्टुन निर्माण गर्न ५० प्रतिशत अनुदान सुन्तला किसानलाई दिएको छ । गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनुसार सहकारीमार्फत सुन्तलाको ब्राण्ड बनाएर बजारीकरण गर्न थालिएको जानकारी दिनुभयो । 


उहाँले परीक्षणका लागि यस वर्ष दुई हजार दुई सय कार्टुन ‘सिगानाको रसिलो सुन्तला’ लेखेर बागलुङ नगरपालिकाको लोगो राखेर बजारमा सुन्तला पठाउन थालिएको बताउनुभयो । 


“परीक्षणका लागि ब्राण्डिङको काम थालेका छौँ सिगानाको सुन्तलाको माग धेरै भयो, चर्चा समेत छ तर ब्राण्ड नुहँदा बजारीकरणमा समस्या भयो”, खड्काले भन्नुभयो, “अहिले एउटा कार्टुनलाई किसानले रू ४० मा पाउँछन्, सुन्तला प्याकेजिङ गरेर पठाउँदा कार्टुनको मूल्य सुन्तलामै जोडिन्छ, पहिलो चरणमा नगरपालिका र सहकारी मिलेर रू एक लाखका कार्टुन उत्पादन गरेका हौँ, कोसेलीका रूपमा पठाउँदा, मायाको चिनो प्रदान गर्दा ब्राण्डिङ गरेको कार्टुनमा राखेर पठाउँछौँ ।” 


सिगानाको सुन्तला भन्दै अन्यत्रको सुन्तला बजारमा खरिद बिक्री भइरहेकाले ब्राण्डको आवश्यकता परेको सिगानाका सुन्तला किसानको भनाइ छ ।


खड्काले कार्टुनको मागअनुसार सहकारीले उत्पादन गर्नसक्ने बताउँदै सिगानाको सुन्तला नगरपालिकाकैै पहिचानसँग जोडिएकाले आगामी दिनमा नगरपालिकाले कार्टुन, क्यारेटजस्ता बजारीकरणमा सघाउने खालको अनुदानमा थप कार्यक्रम ल्याउन आवश्यक भएको खड्काको भनाइ छ । 


आयातित वस्तुलाई मायाको चिनोका रूपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको सुन्तला मायाको चिनोको रूपमा समेत दिन थालिएको छ । यहाँका किसानले वार्षिक रू तीन करोडको सुन्तला बिक्री गर्दै आएका छन् । यहाँ उत्पादन भएको सुन्तला बुटवल, पोखरा र काठमाडौँ निर्यात हुँदै आएको छ ।  


वर्षौंदेखि यहाँका किसानले सुन्तला बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि ब्राण्डिङ गर्न थालिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । 


“सिगानको सुन्तला हाम्रो  पहिचान हो, यहाँ उत्पादन भएको सुन्तला अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले सिगानालाई सुन्तलालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन आवश्यक छ, पहिलो चरणमा कार्टुन बनाइएको छ जुन कार्टुन ५० प्रतिशत छुटमा नगरपालिकाले किसानलाई उपलब्ध गराउन सुरू गरेको छ”, खड्काले भन्नुभयो । 


सिगानालाई सुन्तला अध्ययन केन्द्रका रूपमा समेत विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको खड्काले बताउनुभयो । यस वर्ष नगरपालिकाले रू पाँच लाख लागतमा सुन्तलाका बिरूवा ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । सिगानामा दुई सय किसानले वार्षिक रू एक लाखदेखि पाँच लाखसम्मको सुन्तला बजार पठाउँदै आएका छन् । 

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आर...

थप पढ्नुहोस्

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

थप पढ्नुहोस्