सामूहिक खेतीगरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला
काठमाडाैं | पुस १९, २०८१
सिरहा: सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहनुभएको छ । पछिल्लो दुई वर्षदेखि भने उहाँ स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिनुभएको छ ।
खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको अनितादेवीले बताउनुभयो ।
“लामो समयदेखि तरकारीखेती गर्दै आएकी छु । व्यक्तिगत रूपमा खेती गर्नुभन्दा सामूहिक रूपमा भाडामा जग्गा लिएर खेती गर्दा बढी आम्दानी गर्न सकिने देखियो । त्यसैले अघिल्लो वर्षदेखि हामीले सामूहिक खेती गरेर बराबरी नाफा बाँड्ने गरेको छौँ”, उहाँले भन्नुभयो ।
उहाँ मात्रै होइन यहाँका २७ जना दलित महिलाले करिब दुई बिघा जमिन भाडामा लिएर तरकारीखेती गरिरहेका छन् । ‘सावोरी लघुउद्यमी महिला बचत समूह’ गठन गरी तरकारीखेती गरिरहेका समूहकी सचिव गङ्गा सदायले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सामूहिक रूपमा काम गर्दा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ । त्यसैले समूहमा आबद्ध २७ जनाले यो काम गरिरहेका छौँ ।”
अर्का कृषक नन्दीलाल सदायले सामूहिक खेतीबाट उत्पादित तरकारीले आफूहरूलाई आत्मनिर्भर बन्दै निकै सघाउ पुगेको बताउनुभयो । यही समूहमार्फत तरकारीका साथै सामूहिक माछापालन पनि गरिएको छ ।
अघिल्लो वर्षमात्रै माछा बिक्रीबाट रु डेढ लाख आम्दानी गरिएको र छ क्विन्टल आलु उत्पादन गरी रु ७५ हजार खुद नाफा भएको नन्दीलालले बताउनुभयो । आलु, गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी उत्पादन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्न लहानस्थित दलित जनकल्याण युवा क्लबले सहयोग गरी रहेको छ । किसानलाई खेतीसम्बन्धी तालिम, बीउबिजन, कृषिसामग्री, ‘मल्चिङ’ प्रविधि सहयोग गर्दै आएको क्लबका सामाजिक परिचालक सङ्गीता चौधरीले बताउनुभयो ।
उहाँले नगरपालिकासँग समन्वय गरी तरकारी खेतीको प्रभावकारिता, समस्या, तथा आइपर्ने चुनौती समाधानका उपाय पहिचान गर्न संस्थाले सहयोग गरिरहेको बताउनुभयो ।
वडा नं १२ का वडाध्यक्ष बद्री नारायण चौधरीले तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको र यसको दिगो व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...
पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ । वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

