शून्य बजेटले देउडा गुञ्जिन्छ कर्णालीमा

सुर्खेत | पुस १६, २०८१

शून्य बजेटले देउडा गुञ्जिन्छ कर्णालीमा

सुर्खेत:    कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्र गर्दछ । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ ।
 
    
यसको लोकप्रियता पछिल्लो समयमा बढ्दै गएको छ । विगतमा माथिल्लो कर्णालीमा विशेषगरी चाडपर्व, मेलामालिका, विवाह, व्रतबन्ध, जन्मदिन र शुभसाइत खेलिने देउडाको विस्तार सहरसम्म हुँदै जाँदा देउडा खेल लगाउन अहिले औँसी वा पूर्णिमा कुनै तिथि, मिति र अवसर कुर्न पर्दैन तथापि कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा सञ्चालन हुने गर्दछ ।

    
देउडा कार्यक्रम सञ्चालनमा संस्कृति संरक्षण र पुस्तान्तरण भइरहेकाले स्थानीय, प्रदेश तथा सङ्घ सरकार सबैले गर्व गर्नुपर्दछ । कुनै पनि कार्यक्रम तय गर्दा स्रोतसाधन र जनशक्रिको आवश्यक पर्दछ तर यसका लागि बजेट तर्जुमा अर्थात् जोहो र जनशक्रि प्रबन्ध गर्नुपर्दैन । शून्य बजेटमा हरेक महिनाको दुई दिन अनिवार्य देउडा गुञ्जिन्छ कर्णालीमा ।

    
मूलतः कार्यक्रममा गर्दा सामान्यतः बजेट अनिवार्य शर्त जस्तै हुन्छ भने यसका लागि आयोजक आवश्यक पर्दछ । कार्यक्रममा प्रयोग हुने सामग्री तथा उपकरण, समय व्यवस्थापन र आवश्यक जनशक्रि पनि नभई हुँदैन । खाना, खाजासाथै भत्ता नभए सहभागिता पनि घट्ने अवस्था हुन्छ र कार्यक्रम नै खल्लो भइदिन जान्छ । यद्यपि देउडा कार्यक्रम भने फरक विशेषताबाट सञ्चालन हुँदै आएको छ ।

    
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते घण्टाघर नजिकको खुला मैदानमा देउडा पारखी, जानकार, शुभेच्छुक र जिज्ञासुहरू विना कुनै दबाव, तनाव र रोकतोक स्वतन्त्र तरिकाले हजारौँको सङ्ख्यामा खुला मैदानमा जम्मा हुन्छन् । 


यहाँ कोही आयोजक भएर प्रस्तुत हुँदैन । स्वतः तवरले मैदानमा जम्मा हुनेहरु समूहमा परिणत भएर सहभागीहरू आयोजकको स्वरुपमा सक्रिय  बन्छन् । अनि एकपछि अर्को जोडिएर गोलो घेरा बनाउँछन् । यसमा दुई समूह भने अनिवार्य हुनुपर्छ । यो पुरुषपुरुष र महिलामहिला वा महिला पुरुष दुवैले समूह बनाए खेल्छन् । खेलमा दुवै समूहमा एक जना गीत भट्याउने हुन्छ जसले आफ्नो समूहको दरिलो नेतृत्व गरिरहेको हुन्छ । यसमा तर्क गर्ने र शीघ्राती सवाल जवाफ गर्नसक्नेले नेतृत्व गर्छ ।

    
खेलमा सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन । इच्छुक जोसुकैले आफ्नो सो समयमा प्रभाव राख्न सक्छ । खुट्टा अगाडि पछाडि एकबद्ध गर्दै विभिन्न भाकामा गीत मिलाएर खेलिने देउडा खेल्नेभन्दा हेर्नेले बढी मज्जा र मनोरञ्जन लिन्छन् । गीतमा मायापिरती, सुखदुःख, राजनीति, सामाजिक, सांस्कृतिक अवस्था, विद्यमान वा परिवर्तित परिवेशबारे व्यक्त गरिन्छ । 


सोमबार परेको १५ गतेलाई कर्णालीको खस भाषामा ‘पुसा पुन्वा’ पनि भन्ने गरिन्छ । कर्णालीवासीले सोमबारलाई लामो रातका रूपमा लिँदै मीठामीठा परिकार खाएर यसलाई अवसर मानी गाउँ खाने कथा हाल्ने वा देउडा खेलेर रमाइलो गरी मनाएका छन् । पुस १५ को महत्व र यसपछि बदलिने समय, रैथानेबाली, यसको संरक्षण, प्रवद्र्धन र बजारीकरणका बारेमा पनि देउडा गीत गाउने गरिन्छ । 


पोर आइथी पुसका पुन्न अहिले पनि आइगै ।                       
उमेर घटाई जोवन लैगै आफू फेरि बाइगै ।। 

    
रूपमा जस्तो देखिए पनि सारमा देउडाले यहाँका नागरिकहरूको जीवन बोल्ने गरेको जुम्ला निवासी देउडाकर्मी जीतबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “देउडामा समाज बोल्छ । 


यसमा सृष्टि, प्रकृति, विश्व जगत्देखि मायाप्रेम, हाँसो, रोदन, आवेग, रोष, व्यङ्ग्य, आलोचना, टिप्पणी, गुनासो, सुझावलगायत सबै कुराको समावेश छ । जसले खेल्नेलाई जोश जगाइरहेको हुन्छ भने हेर्नेलाई उत्साह र उमङ्ग दिन्छ ।”

    
त्यस्तै, कालीकोट निवासी देउडा गायिका कमला धामीले देउडा सामाजिक र सांस्कृतिक पहिचान भएको बताउनुभयो । “देउडा भन्नेबित्तिकै कर्णाली या सुदूरपश्चिम भनेर चिनिन्छ । यो हाम्रो झल्किने पहिचान हो”, उहाँले भन्नुभयो, “मनोरञ्जन र सामाजिक, आर्थिक, राजनीतिक समस्यालाई सरल ढङ्गबाट सरोकारवाला निकायलाई सुनाउने र सम्बोधन गर्न लगाउने माध्यम एवं शैली हो ।”

    
विभिन्न परम्परागत प्रथा, संस्कृति र संस्कार संरक्षणका लागि राज्यले करोडौँको खर्च गरिरहँदा देउडा संस्कृतिको संरक्षण एवं जगेर्नाका लागि भनेर ठूलो लगानी गरेको पाइँदैन । यसको निरन्तरता दिँदै पुस्तान्तरण गर्ने, कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका स्थानीयले आधुनिकतासँगै देउडाको मौलिकतालाई विस्तार गर्दै लगेका छन् ।

    
कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचायैले देउडा संस्कृति सिञ्जा सभ्यताको परिचय भएको बताउनुभयो । उहाँका अनुसार देउडाले सिञ्जा सभ्यता एवं कर्णालीको समुल कथा र मर्म बोल्दै आएकाले यसको जीवन्तता रहिआएको छ । 


कर्णाली प्रदेश सरकारले देउडा खेल र संस्कृतिको महत्व हृदयमगम गरी यसको संरक्षण एवं सम्वर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको साउन १ गते ‘साउने सङ्क्राति अर्थात् देउडा पर्व’का रूपमा सार्वजनिक बिदा दिँदै आएको छ । 

काठमाडौं:    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।  सिआइबीका...

थप पढ्नुहोस्

अन्नपूर्ण:   गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटिइ)  अन्तर्गतको गण्डकी प्राविधिक शिक्षालय स्थापना भएको चार वर्षपछि भवन बन्ने भएको छ ।       गण्डकीमा द...

थप पढ्नुहोस्

काठमाडौं:     सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा रु ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ । ...

थप पढ्नुहोस्