सिचुवान एयरबाट प्रवर्द्धनात्मक उडान
पाेखरा | पुस ११, २०८१
कास्की: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको विमानबाट आज प्रवर्द्धनात्मक उडान गरिएको छ ।
पोखराबाट प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, उच्च पदस्थ कर्मचारी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसहित एक सय २६ यात्रु बोकेर ‘एयरबस ३१९’ काठमाडौँ अवतरण गरेको हो ।
यसअघि बिहान चीनको छेन्दुबाट एक सय २९ यात्रु बोकेर पोखरा अवतरण गरेको सिचुवान एयरलाइन्सले पोखराबाट यात्रु बोकेर काठमाडौँ उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक एयरबस पूर्ण क्षमतामा उडान र अतवरण भएको छ ।
प्रवद्र्धनात्मक उडानपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट विमानहरुलाई अन्तर्राष्ट्रिय उडान अवतरणमा कुनै समस्या नरहेको बताउनुभयो ।
विमानस्थलको धावनमार्ग र नजिकको डाँडाका कारणले ठूला आकारका जहाज सञ्चालनमा समस्या हुने दावीलाई प्रवद्र्धनात्मक उडानले गलत सावित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पोखरामा एयरबस जुनसुकै राम्रोसँग उडान र अतवरण गर्न समस्या छैन भन्ने पुष्टि भएको छ । अब नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारी र निजी क्षेत्रको सामूहिक पहल आवश्यक छ ।” अधिकारीले सरकारले अरबौँ लगानी गरेर पूर्वाधार तयार गरेकाले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले समेत अग्रसरता लिनुपर्ने बताउनुभयो ।
नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्टस् एशोसिएशन (नाटा) गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र मारमा परेको बताउनुभयो । प्रवद्र्धनात्मक उडानले पोखरामा ठूला आकारका जहाज उडान र अवतरणमा कुनै पनि समस्या नरहेको स्पष्ट भएको उहाँले बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सरकारले छिमेकी देशहरु तथा खाडी मुलुकहरुमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
पहारीले भन्नुभयो, “अन्तर्राष्ट्रिय उडान अहिलेसम्म सञ्चालन नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायी समस्यामा छौँ । ठूलो धनराशी खर्च गरेर बनाएको विमानस्थल व्यावसायिक सञ्चालन हुनुपर्दछ । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नु आवश्यक छ ।”
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
यहाँका पर्यटन व्यवसायी तथा निजी क्षेत्रले अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सुरु गर्न सरकारसँग निरन्तर माग गरिरहेका छन् । विमानस्थलमा कहिलेकाँही चार्टर उडान भएपनि व्यावसायिक उडान हुन सकेको छैन ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

