तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
सप्तरी | पुस ९, २०८१
सप्तरी: सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आउनुभएको छ ।
“आजभोलि तरकारी टिप्ने, बजारसम्म लैजाने र बिक्री गर्ने कामका निकै व्यस्त हुन्छु । परिवारका सबैजना यही काममा लागिपरेका छौँ”, खेतमा गोलभेँडा गोडमेल गर्दै गर्नुभएका पबितारले भन्नुभयो, “वर्षको तीन यामसम्म तरकारी लाउने गरेको छु । यसबाट वार्षिक रु एक–डेढ लाख आम्दानी हुने गरेको छ ।”
उहाँले आफ्नो स्वामित्वमा रहेको २ कठ्ठा तथा लिजमा लिएर ४ कठ्ठा जमिनमा तरकारीखेती गरिरहेको बताउनुभयो ।पबितारले यस वर्षमात्र २ किवटल काउलीबाट मात्र रु ६० हजार आम्दानी गर्नुभयो भने अहिले खेतमा गोलभेँडा लगाउनुभएको छ ।
उहाँजस्तै सोही ठाउँका चलितर पासवानले पनि तरकारीखेती गरेर नियमित आम्दानी गर्दै आउनुभएको छ । तरकारीखेतीको आम्दानीबाट आफ्नो १२ जनाको परिवारको जीविकोपार्जन भइरहेको उहाँले बताउनुभयो ।
गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी लगाउने गरेको उहाँले जानकारी दिनुभयो ।पबितार, चलितरजस्तै यस गाउँका अधिकांश विपन्न दलित परिवारको तरकारीखेतीबाट जीवतस्तर उकासिएको छ । उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन् ।
विभिन्न सङ्घसंस्था तथा स्थानीय निकायबाट संस्थागत रूपमा उनीहरूले सहयोग लिने गरेका छन् । उक्त कृषि समूहमा अहिले १६ जना सदस्य छन् ।यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारीखेतीतर्फ आकर्षित गर्ने काम सबल नेपालले गरेको हो ।
किसानलाई खेतीसम्बन्धी तालिम, उपयुक्त बीउबिजन, नयाँ कृषि प्राविधिक सामग्री, मल्चिङ प्रविधि सहयोग गर्दै आएको कार्यक्रमका सुपरभाइजर अशोककुमार साहले बताउनुभयो ।
उहाँले नगरपालिकासँग समन्वय गरेर आफूहरूले कृषि, शिक्षा, बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो ।किसानले गरेको तरकारीखेतीको प्रभावकारिता, समस्या, चुनौती तथा समाधानका उपायको पनि संस्थाले पहिचान गर्ने गरेको जनाइएको छ ।
तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको भन्दै नगरपालिकाका कृषि शाखा प्रमुख रोशन चौधरीले आगामी दिनमा संस्थाले कार्यक्रम छाडेको अवस्थामा पनि नगरपालिकाले किसानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

