पर्वतीय महोत्सव सकियो
पाेखरा | मंसिर २८, २०८१

पोखरा: नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ । ५ दिने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ ।
बिहीबार आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरे ।
समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबिच घनिभूत सम्बन्ध भएको औंल्याए । उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको विकास र प्रवर्धनमा सरकारले सघाउने वाचासमेत गरे ।
‘यो पोखरा र गण्डकी प्रदेशकै गौरव हो । यसको विकास र प्रवर्धनमा गण्डकी सरकार यथाशक्य रुपमा सघाउन तयार छ,’ उनले भने ।
समारोहमा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले पर्वतीय महोत्सवलाई निरन्तरता दिँदै यो क्षेत्रमा थप पर्यटक भित्र्याउन प्रयत्न गरिएको जनाए ।
संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले महोत्सव पर्वतीय क्षेत्रलाई चिनाउन सहयोगी बनेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘पर्वतीय क्षेत्रका सम्भावना, जलवायु परिवर्तनका असर, न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिकाबारे गहन छलफल भएको छ । यसले देशको अर्थतन्त्रलाई अघि बढाउन, स्थानीयको जीवनस्तर उकास्न र पर्यटन प्रवर्धन गर्न पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।’
महोत्सवमा बिहीबार आयोजित कार्यक्रममा जलवायु परिवर्तनका कारण देशभरि नै र खासगरी अन्नपूर्ण क्षेत्रमा अनेक चुनौती देखिएको सरोकारवालाले औंल्याए ।
पछिल्लो समय जलवायु परिवर्तनका असरहरु देखिएको जनाउँदै उनीहरुले मानवीय व्यवहारमा परिर्वतन, अनुकूलनसँगै जलवायु परिर्वतन गराउने क्रियाकलाप कम गर्नेतर्फ सोच्न आग्रह गरे ।
सरोकारवालाले जलवायु परिर्वतनका कारण, समस्यासहित समाधानका उपायहरुबारे समेत छलफल गरे । ‘अन्नपूर्ण क्षेत्रमा जलवायु परिर्वतनका असरहरु’ शीर्षकको छलफलको संयोजन जनप्रिय बहुमुखी क्याम्पसको बिएमटिएम कार्यक्रमले गरेको थियो ।
कार्यक्रममा वातावरण विज्ञ प्राडा विकास केसीले जलवायु परिवर्तनका असरहरु कम गर्न पूर्वसावधानीका लागि प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।
उनले ठाउँ ठाउँमा अनियमित वर्षा र त्यो वर्षाका कारण अकल्पनीय क्षति हुन थालेको औंल्याए । ‘पहिल्लो क्रममा अनियन्त्रित वर्षा हुन थालेको छ, नसोचेको क्षति पनि भएको छ । यसको कारण जलवायु परिर्वतन नै हो वा होइन भनी गम्भीर अनुसन्धान जरुरी छ,’ उनले भने ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख डा रविन कडरिया जलवायु परिर्वतन भइसकेपछि आउने सङ्कट टार्न नेपालीको सामथ्र्यले नधान्ने भएकाले व्यवहारमा परिवर्तन र पूर्वसावधानीमा ध्यान दिनुपर्ने विचार राख्छन् ।
डा कडरिया भन्नुहुन्छ, ‘हामीले यो समस्या सुल्झाउन अहिले नै व्यवहार परिवर्तन गर्न जरुरी छ, विकसित देशहरुलाई सचेत बनाउन जरुरी छ । ठूलो लगानी गरी यसका असरहरुको मुकाविला गर्न कठिन हुन्छ ।’
ट्रेकिङ व्यवसायी धर्मराज पन्थी हिमाल हेर्न नेपाल आउने पाहुनाहरु कालापत्थर जस्ता हिमाल हेरेर दिक्क हुने गरेको बताउँछन् । जलवायु परिवर्तनले पदयात्रा पर्यटनमा समेत चुनौतीहरु थपेको उनको भनाइ छ ।
महोत्सव अवधिमा संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि भएका छन् । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो सङ्ग्रहालयमा वर्षमा दुई लाखभन्दा बढी मानिस आउने गरेका छन् ।
ढोरपाटन: ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर...
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा...
सप्तरी: मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गएराति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय...