३ श्रष्टा सम्मानित
काठमाडाैं | मंसिर २०, २०८१
काठमाडौं: स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो ।
स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहनुभएका र सङ्गीतमा विशेष योगदान दिनुभएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही रु ५१ हजार र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो ।
“स्वरसम्राट नारायण गोपालको विषयमा हामीले जति चर्चा गरेपनि पुग्दैन”, उहाँले भन्नुभयो, “अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसङ्गीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ । उहाँले नेपालीलाई कालजयी गीत दिनुभएको छ ।”
अध्यक्ष केसीले बुधबार देशभर उहाँको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिनुभयो । उहाँले धुम्वाराहीमा नारायण गोपाल सङ्गीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताउनुभयो ।
सम्मानित हुनुभएका सङ्गीतकार मुकारुङले नारायण गोपाल जस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्व रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नारायण गोपाल सङ्गीतको विश्वविद्यालय हुनुहुन्छ । विगत छ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ । यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो । यो सम्मान मेरो लागि अस्कर अवार्ड भन्दा ठूलो छ । उहाँको गीत प्रत्यक्ष सुन्न पाउनु, सामीप्यता राख्न पाउनु मेरा लागि गौरवको विषय हो ।”
‘सम्झनामा नारायण गोपाल’ अन्तर्गत श्रष्टाहरूले उहाँलाई गीतमार्फत सम्झिनुभएको छ । गायक दीव्यकुमार सिटौलाले ‘मलाई छोडी मेरै छायाँ’, गायक साजन लामाले ‘यति चोखो यति मिठो’, गायक राजेन्द्र श्रेष्ठले ‘गल्ती हजार हुन्छन’, गायक महेन्द्र गुरुङ र रोजी श्रेष्ठले ‘ए कान्छा ठट्टैमा यो जोवन’, गायक सम्भव जङ्गम थापा र सङ्गीत तिमिल्सिनाले ‘मेरो जोवन लौजाउ’, गायक रामकृष्ण ढकालले ‘तिमीलाई भुल्दा’, गायक छिरिङ भुटियाले ‘मन्दिरमा छकी मूर्तिमा माया’ लगायत गीत प्रस्तुत गर्दै स्वरसम्राट नारायण गोपालको स्मरण गर्नुभयो ।
विसं १९९६ असोज १८ गते जन्मनुभएका स्वरसम्राट नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो । प्रत्येक वर्या मङ्सिर १९ गते उहाँ र गीतसङ्गीतलाई स्मरण गर्दै स्मृति दिवसलाई मनाउने गरिन्छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

