आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण
काठमाडाैं | मंसिर ४, २०८१
काठमाडौं: यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ ।
सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ ।
सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गर्नुभएको आइएफआरसीले जनाएको छ ।
आइएफआरसीको सर्वोच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुनुहुन्छ । रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उहाँले अतुलनीय नेतृत्व प्रदान गर्दै आउनुभएको छ ।
यही नेतृत्वका कारण महासचिवमा दोस्रो कार्यकालका लागि पनि सेवारत हुनुहुन्छ । विशेष गरेर कोरोना महामारीका समयमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक रहेको बताइएको छ ।
आइएफआरसीमा नेपाल रेडक्रससहित विश्वका एक सय ९१ देशका रेडक्रस आवद्ध छन् ।
आइएफआरसीद्वारा जारी गरेको विज्ञप्तिका अनुसार पुरस्कार ग्रहण गर्दै महासचिव चापागाईँले आइएफआरसीले ‘सिड्नी शान्ति पुरस्कार’ प्राप्त गर्नु गौरवको विषय रहेको चर्चा गर्दै यसले आगामी दिनमा रेडक्रसका स्वयंसेवकलाई अझ मानवीय सेवामा तल्लीन हुन उत्प्रेरण मिल्ने बताउनुभयो ।
सिड्नी पिस फाउण्डेसनका निर्देशक मेलानी मौरिसनले महासचिव चापागाईँलाई सो पुरस्कार प्रदान गर्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

