गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
बाँके | कात्तिक ३०, २०८१
बाँके: नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुग्नुभयो ।
बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित भेडा जुधाउँदै आउनुभएका साइला यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ ।
“लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका साइलाले भन्नुभयो, “सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने रु १० हजार छभने त्यसको मूल्य रु २५–३० हजार भइहाल्छ ।”
जानकी गाउँपालिका–६ कपासीबाट भेडा जुधाउन आउनुभएका सर्नाम खाँ यो खेल सौखका लागि हुने गरेको बताउनुहुन्छ । “भेडा लडाउने हाम्रो सौख हो, पाल्ने, लडाउने हारेपछि बुच्चडलाई दिने”, खाँले भन्नुभयो, “लडाकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।”
उहाँका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडा गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु ३० हजार पर्छ ।
भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरेको जानकी–४ का भेडापालक किसान दौलतप्रसाद यादवले बताउनुभयो ।
मेलामा भेडापालक किसान स्वस्फूर्त रूपमा भेडा जुधाउन आउने गरेको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक टीकाराम यादवकोे भनाइ छ । केही सौखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिक रूपमा भेडा पाल्ने किसान भने नरहेको उहाँले बताउनुभयो ।
जानकी गाउँपालिका–५ स्थित गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न टाढा–टाढाबाट आउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुगेका शालिकराम यादव प्रत्येक वर्ष आउने गरेको बताउनुहुन्छ ।
गुरुवागाउँका ९५ वर्षीय भगौतिप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखि नै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताउनुहुन्छ ।
“पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैन्थ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएका छन्”, उहाँले भन्नुभयो । भेडा जुधाइ शनिबारसम्म चल्नेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

