पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अस्तव्यस्त
पाेखरा | कात्तिक ३०, २०८१
गण्डकी: बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त बनेको छ ।
दैनिक सरदर तीन सय बिरामीले सेवा लिने उक्त केन्द्र साघुँरो र अव्यवस्थित भवनबाट सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा स्वास्थ्य उपकरणकोसमेत अपुगता छ ।
भवन अभावमा प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन भइरहेको छ । प्रयोगशाला बातानुकूलित हुनुपर्नेमा पङ्खाबाट काम चलाइएको केन्द्रका चिकित्सक जनक खड्काले बताउनुभयो । बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवाका लागि उपयुक्त कोठा नभएको उहाँको भनाइ छ । महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधायुक्त बनाउनेतिर महानगरले चासो नदिएको स्थानीवासीको गुनासो छ ।
पोखरा महानगरपालिका–८ नयाँबजारमा रहेको उक्त केन्द्र पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट सञ्चालन भइरहेको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताउनुभयो । उहाँले केन्द्रमा पूर्वाधार व्यवस्थापनदेखि सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको बताउनुभयो । सुवेदीले गत असोज १३ गतेदेखि केन्द्र प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । “म आउनुपूर्व केन्द्र झनै लथालिङ्ग अवस्थामा थियो, खानेपानी, शौचालयसमेतको राम्रो सुविधा थिएन”, उहाँले भन्नुभयो, “अहिले भवन मर्मत, रङ्गरोगनलगायत आन्तरिक व्यवस्थापनको काम भइरहेको छ, केन्द्रको परिसरमा पर्खाल लगाउने काम भइरहेको छ ।”
प्रमुख सुवेदीले स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर र प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो । खुला ठाउँमा भएकाले केन्द्रको सुरक्षामा पनि चुनौती रहेको उहाँको भनाइ छ । यसअघि सामान्य घेराबारसमेत नहुँदा केन्द्रको भवन परिसरमा सवारीसाधनको पार्किङ गर्ने, दुव्र्यसनमा फसेका युवाहरु सुत्ने आदि गर्दै आएका थिए । बिरामीको चापअनुसार चिकित्सक र स्वास्थ्यकर्मी अपुग रहेको प्रमुख सुवेदीले बताउनुभयो ।
अस्पतालमा १५ जनाको दरबन्दी रहेको उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् । दरबन्दी अनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ती हुन सकेको छैन । केन्द्रमा इसिजी, थाइराइडलगायतको जाँच गर्ने उपकरणसमेत नरहेको प्रमुख सुवेदीले बताउनुभयो ।
“उपकरण नहुँदा कतिपय बिरामीलाई अन्यत्रका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामीहरु आउने गरेका छन् ।
बीमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले केन्द्रमा सेवा लिन आउने बिरामीको जाप बढी हुने गरेको चिकित्सक खड्काले बताउनुभयो । उहाँका अनुसार गत भदौयता झण्डै ११ हजार जनाले उक्त केन्द्रबाट सेवा लिएका छन् । केन्द्रले स्वास्थ्यचौकी तहबाट प्रदान हुने सबै सेवासहित सामान्य सर्जरी, प्रयोगशाला सेवा, सुरक्षित गर्भपतनलगायत सेवा प्रदान गदै आएको छ ।
प्रयोगशालामा हर्मोनलबाहेकका सबै परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ । “भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई सुविधासम्पन्न नगर अस्पतालका रुपमा विकास गर्न सकिन्छ”, प्रमुख सुवेदीले भन्नुभयो, “यसतर्फ महानगर नेतृत्वको ध्यान जानु जरुरी छ ।’
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

