छाला नपाउँदा मादल बनाउन समस्या

तनहुँ | कात्तिक ३०, २०८१

छाला नपाउँदा मादल बनाउन समस्या

तनहुँ:     तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने उहाँको दैनिकी नै हो । 


६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गर्नुभएको हो । बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उहाँले मादल बनाउन सिक्नुभएको हो । 


पुख्र्यौली पेसालाई निरन्तरता दिन आफूले यो पेसालाई अवलम्बन गरेको सार्कीले बताउनुभयो । तर केही समययता मादल बनाउन छाला नपाउँदा उहाँलाई समस्या हुन थालेको छ । 


“बाबुकै कारणले म यो पेसामा पनि छु, मसँगै सीप सिकेर छोराले खैरेनीटारमा मादल पसल खोलेको छ”, उहाँले भन्नुभयो, “अहिले छाला नपाउँदा मादल बनाउन समस्या हुन थालेको छ ।”

     
नारायणगढ, कावासोती, पुट्टारलगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाइका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उहाँले बताउनुभयो । 


उहाँले भन्नुभयो, “स्थानीयस्तरमा छाला फालिएको छ । नगरपालिकासँग आग्रह गरेको छु । निश्चित शुल्क तिरेर यही छाला किन्न पाए सजिलो हुन्थ्यो ।” उहाँले मादलसँगै सारङ्गी, खैजडी, झ्याली, दमाहा, ढोलकी, टेम्पोलगायत बाद्यवादनका सामग्री बनाउँदै आउनुभएको छ । त्यसका अलवा आरन पेसालाई पनि सँगसँगै अगाडि बढाएको उहाँको भनाइ छ । 


उहाँले भन्नुभयो, “म यो पेसाबाट सन्तुुष्ट नै छु । तर विगतका वर्षजस्तो व्यापार छैन, निर्वाह भने चलेकै छ ।” पछिल्लो समय आधुनिक वाद्यवादनका सामग्री प्रयोग बढी हुँदा मादल बिक्री कम हुन थालेको उहाँको भनाइ छ । यही पेसाबाटै घरखर्च चलिरहेको बताउँदै सार्कीले भन्नुभयो, “अहिलेसम्म चलेको यही पेसाबाटै हो । यसमा सन्तुष्ट नहुनुपर्ने कारण छैन ।”

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्