मर्दी फलोअप: गाइडको शव निकाल्न समस्या, वडाध्यक्ष नेतृत्वको टोली जाँदै
मर्दीको तापक्रम माइनस १० डिग्री, उद्धारका लागि सामान जुटाउँदै
पाेखरा | कात्तिक २६, २०८१
पोखरा: कास्कीको माछापुच्छ्रेगाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा हिजो (आइतबार) एक पर्यटक गाइडको मृत्यु भयो ।
नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहणको गराउन काठमाडौंको सनराइज कम्पन्नीबाट आएका ६२ वर्षीय लालबहादुर तामाङको आरोहणको क्रममै लडेर मृत्यु भएको हो ।
सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि आएका एक विदेशीसहित टोलीमा ४ नेपाली रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।
‘कात्तिक २३ गते काठमाडौंको सनराइज कम्पन्नीबाट नर्वेका एक नागरिकसहित ४ नेपालीको टोली मर्दी हिमाल आएका रहेका छन् ।
मुख्य गाइडसमेत रहेका लालबहादुर तामाङले नर्वेका नागरिकलाई हिमाल चढाउने र आफु पनि चढ्ने योजनामा आएका रहेछन्’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँगभने, ‘मर्दी हिमाल आरोहणकै क्रममा तामाङको आइतबार लडेर मृत्यु भएको हो, थप बुझ्दै छौं ।’
मर्दीको तापक्रम माइनस १० डिग्री, उद्धारका लागि जुटाउँदै
तापक्रम र भौगौलिक अवस्थाका कारण मृतक लालबहादुर तामाङको शव निकाल्न कठिनाई भएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले बताए ।
‘मर्दी हिमाल आरोहणको क्रममा मृत्यु भएका लालबहादुर तामाङको शव घटनास्थलबाट निकाल्न तापक्रम र भौगौलिक अवस्थाका कारण कठिनाई देखिएको छ, अहिले त्यहाँ माइनस १० डिग्री रहेको बुझ्नमा आएको छ । हामीसँग उद्धारका लागि पर्याप्त सामान छैन’, उनले भने, ‘अहिले मर्दीको मौसम चिसिएको छ, तामाङ लडेको स्थान ढुङ्गा नै ढुङ्गा भएको स्थानमा हो । हिडेर जान सकिदैन, रक क्लाइम्बिङ गर्नुपर्छ । त्यसका लागि आवश्यक सामान जुटाउन पर्छ । हामीले तयार गर्दैछौ ।’
उनले तामाङ लडेको स्थानमा रेकी गर्नका लागि सनराइज कम्पन्नीसँग समन्वय गरेर हेलीकप्टर मगाउन संवाद भइरहेको जानकारी दिए ।
अहिले हाइक्यापमा रहेका पर्यटन व्यवसायी र मर्दी हिमाल आरोहणका लागि गएका विदेशीनागरिकसहितका टोलि तामाङ लडेको स्थानमा जान लागेको उनले बताए ।
सूचना पाएका छौं हाम्रो टोली जाँदै छ: डिएसपी शर्मा
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्तकुमार शर्माले मर्दी हिमाल आरोहणका क्रममा लडेर एक जना बेपत्ता भएको जानकारी आएको बताए ।
‘मर्दी हिमाल आरोहणको क्रममा एक जना मानिस लडेर बेपत्ता भएको भन्ने सूचना आएको छ । घटनास्थलतर्फ हाम्रो टोली जाँदै छ अहिले बाटोमा छ’, डिएसपी शर्माले भने, ‘अहिले बेपत्ता भएको भन्ने सूचना मात्र पाएका छौैं थप अपडेट हाम्रो टोली जाँदै छ । पुगे पछि थाहा होला ।’
उनले अस्थायी प्रहरी चौकी भेडाबारीबाट टोली घटनास्थल हिडेको बताउँदै थप टोली जिल्लाबाट पठाउने तयारी भइरहेको बताए ।
प्रहरीलाई बेपत्ता भन्ने सूचना आएपनि मुख्य गाइड तामाङको मृत्यु भइसकेको स्थानीयहरुले गएराती नै पुष्टि गरिसकेका छन् ।
२०७१ जेठ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले ५ हजार ८ सय मिटर उचाईको हिमाल आरोहण गर्न अनुमति नचाहिने निर्णय गरेको थियो ।
सोही निर्णयलाई नै आधार मानेर मृतक तामाङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि उक्त स्थानमा पुगेका थिए । मर्दी हिमालको उचाई ५ हजार ५ सय ८७ मिटर रहेको छ ।
यो पनि पढ्नुहोस
भक्तपुर: प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले आज भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासङ्घका उपाध्यक्ष छङ ...
पोखरा भ्रमणमा आएका जापानको निगाता प्रान्तका सांसद एवम् व्यवसायीक प्रतिनिधहरुले पोखराका मेयर धनराज आचार्यसँगै गण्डकी प्रदेशका सांसदहरुसँग शिष्टाचार भेटघाट गरेका छन् । बुधबार पोखरामा आइपुगेका...
काठमाडौं: नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली आज स्वदेश फर्कन लागेको हो । &n...