२०७८/७९ मा निक्षेपभन्दा १ खर्ब बढी कर्जा प्रवाह

काठमाडाैं | साउन ४, २०७९

२०७८/७९ मा निक्षेपभन्दा १ खर्ब बढी कर्जा प्रवाह

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा १ खर्ब रुपैयाँभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । निक्षेप वृद्धि नभए पनि बैंकहरू कर्जा विस्तारमा आक्रामक बनेपछि उनीहरूले चर्को तरलता अभाव झेल्नुपरेको थियो ।

 

नेपाल बैंकर्स संघका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले कुल ३ खर्ब ४० अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कोभिड–१९ महामारीका कारण लामो समयदेखि कर्जा विस्तार ठप्प भएकाले तरलताको अवस्था सहज भएपछि गत आवको शुरूदेखि नै बैंकहरू कर्जा प्रवाहमा आक्रामक देखिएका थिए । तर, बैंकहरूको कर्जा प्रवाहअनुसार निक्षेप वृद्धि नभएको संघले जानकारी दिएको छ ।

 

२०७८ असारमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ असारमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आवमा निक्षेप संकलनमा सबैभन्दा अगाडि नबिल बैंक देखिएको छ । आवको अन्त्यमा नेपाल बंगलादेश बैंक प्राप्त गरेर एकीकृत कारोबार शुरू गरेको नबिलको निक्षेप गत आवमा १ खर्ब १ अर्ब ५६ करोड रुपैयाँले बढेको छ । नबिलले बंगलादेश बैंक प्राप्त गरेर असार २७ गते एकीकृत कारोबार शुरू गरेको थियो ।

 

मर्जरबाट भएको निक्षेप वृद्धिबाहेक निक्षेप बढाउनेमा नेपाल बैंक अग्रस्थानमा छ । यसको निक्षेप गत आवमा ३३ अर्ब ५६ करोडले बढेको छ । यसैगरी एनसीसीले ३० अर्ब ७१ करोड, सानिमाले २८ अर्ब र कुमारीले २५ अर्ब ७८ करोड रुपैयाँले निक्षेप वृद्धि गरेको छ ।

गत आवमा दुईओटा बैंकको मात्र निक्षेप घटेको छ । संघका अनुसार राष्ट्रिय वाणिज्य बैंकको ७ अर्ब ४६ करोड र एनआईसी एशियाको ५ अर्ब २७ करोड रुपैयाँ निक्षेप घटेको छ ।

 

वाणिज्य बैंकहरूले २०७८ असारसम्ममा ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा २०७९ असारमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अर्को बैंक प्राप्त गरेका कारण कर्जा प्रवाह वृद्धि गर्ने बैंकहरूको अग्रस्थानमा पनि नबिल नै छ । बंगलादेश बैंक प्राप्तिका कारण नबिलको ऋण प्रवाह सबैभन्दा बढी १ खर्ब ३ अर्ब ४१ करोडले रुपैयाँले वृद्धि भएको छ । नबिलमा बंगलादेश बैंकबाट ७१ अर्ब रुपैयाँ ऋण प्रवाह वृद्धि भएको छ ।

 

यसपछि नेपाल बैंकले ३५ अर्ब ८७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । यस्तै ग्लोबल आइएमई बैंकले २९ अर्ब ७१ करोड, राष्ट्रिय वाणिज्य बैंकले २८ अर्ब ८९ करोड, एनसीसी बैंकले २७ अर्ब २ करोडले ऋण विस्तार गरेको छ । सबैभन्दा कम ऋण नेपाल इन्भेष्टमेण्ट बैंकको ९७ करोड रुपैयाँले मात्र वृद्धि भएको बैंकर्स संघले बताएको छ ।

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...

थप पढ्नुहोस्