छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै

कैलाली | कात्तिक २१, २०८१

छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै सांकेतिक तस्बिर

कैलालीः   छठ पूजा सेवा समिति धनगढीले यहाँको मोहना नदी तटमा आयोजना गर्ने छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै गएका छन् । 


समितिले यहाँ १२ वर्षदेखि छठ पर्वका अवसरमा मोहना नदी किनारमा पूजा आयोजना गर्दै आएको छ ।


समितिका अध्यक्ष सन्तोष मण्डलले छठ पूजाका लागि मोहना नदी किनारमा पाँच वटा घर (टेन्ट)बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आइएकामा विगत केही वर्षयता कम्तीमा ३ सयको हाराहारीमा टेन्ट लगाएर पूजाको कार्यक्रम गर्दै आइएको जानकारी दिनुभयो । 


समितिका अध्यक्ष मण्डलले छठ पूजाको तयारीका लागि सुरुका वर्षमा रु ३५ हजार मात्र खर्च हुने गरेको जनाउँदै उक्त खर्च बढेर अहिले रु २० लाखको हराहारीमा पुगेको उल्लेख गर्नुभयो ।


उहाँका अनुसार स्थानीय तह, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्था, सर्वसाधारणलगायतको सहयोगमा रकम सङ्कलन गरी समितिले प्रत्येक वर्ष पूजा सम्पन्न गर्दै आइरहेको छ ।


सुरुका वर्षमा पूजास्थलमा चहलपहल कम हुने गरेको, सुनसान हुने गरेकामा पछिल्ला केही वर्षयता करिब २ लाखको हाराहारीमा भक्तालु तथा दर्शनार्थी अवलोकन गर्न आउने गरेका अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।


“पहिला यो पर्व पहिले विशेष गरी मिथिला समुदायले मात्र मनाउने चलन थियो ।


पछिल्लो समय अन्य समुदायको पनि उल्लेख्य सहभागिता हुन थालेको छ”, उहाँले भन्नुभयो, “निराहार व्रत बसेर मोहना छठी घाटमा तीन सयभन्दा बढी परिवार र अन्य समुदायका व्रतालु पूजा गर्न आउनुहुन्छ । 


२ हजारको हाराहरी भक्तजन नदीमा आई सूर्यनारायणलाई फूल तथा जल अर्पण गर्नुहुन्छ ।”


छठ पर्व आउनुभन्दा १ महिना अघिदेखि मोहना नदी तटमा सरसफाइ गरी भव्य रुपमा पूजालाई सफल पार्ने तयारी गरिएको समितिका उपाध्यक्ष रोशनकुमार कर्णले बताउनुभयो । 


“विगतका वर्षमा यो पर्वतर्फ यहाँका अन्य समुदाय तथा स्थानीयको खासै ध्यान हुँदैन्थ्यो”, उहाँले भन्नुभयो, “पछिल्ला केही वर्षयता स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म यो पर्व मनाउन र अवलोकन गर्न आउनुहुन्छ ।”


छठमा व्रतालुले परिवारका सदस्यको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तान प्राप्तिलगायत कामना गरी मनाउने परम्परा रहेको समितिका सदस्य चन्दन जैसवालले बताउनुभयो ।


यसवर्ष छठको तयारीका लागि धनगढीको मोहना घाटमा २ सय ५० भन्दा बढी पूजाकक्ष निर्माण गरिएका छन् ।


ती निर्माण गरिएका पूजाकक्षमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी माला, पताकालगायत सामग्रीले सजाएर आकर्षक बनाइएको छ । 


भक्तजन तथा दर्शनार्थीका लागि आकर्षक प्रवेशद्धार निर्माण गरिएको छ ।


धनगढी बजारका मुख्य स्थानमा स्वागत गेट निर्माण गरिएका छन् । 


नेपालको पूर्वी भेगबाट ल्याइएका कालिगडले सूर्यको प्रतिमालगायत विभिन्न देवीदेवताको मूर्ति निर्माण गरी, रङ्गाउने र सजाउने काम गरेका छठ पूजा सेवा समितिका अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।


मोहना नदी तटीय भागको माथितिर ठूलो पण्डाल निर्माण गरिएको छ ।


उक्त पण्डालमा अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 


भजनकीर्तन, नाचगान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न देवीदेवताका सांस्कृतिक झाँकीलगायत कार्यक्रम पनि आयोजना गरिने छठ पूजा सेवा समितिले जनाएको छ । 


पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । 
 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्