काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडाैं | कात्तिक १४, २०८१

काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं:    प्रेस काउन्सिल नेपालका नवनियुक्त बोर्ड सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण तथा पदबहाली गर्नुभएको छ ।  


काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नवनियुक्त सदस्यद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी तथा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई आज यहाँ आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । काउन्सिलमा पत्रकार महासङ्घको अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । 


यसैबीच अध्यक्ष बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभएको छ । 


नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादकका लागि आज काउन्सिलमा आयोजित अभिमुखीकरणमा उहाँले सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेष फैलाउने गरी गलत सूचना सम्प्रेषण गर्नेलाई काउन्सिलले कानुनी कारबाही गरिरहेको बताउनुभयो । 


अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढङ्गले पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभयो ।


 “केही मिडियाबाट एकपक्षीय भनाइ, पूर्वाग्रही अभिव्यक्ति, सुनियोजित ढङ्गले तथ्यहीन आरोप लगाउने काम भइरहेका छन् । सामाजिक सद्भाव बिथोल्न सकिन्छ कि भनेर त्यसरी आइरहेका सामग्रीप्रति काउन्सिल सचेत छ र आवश्यक कानुनी कारबाही भइरहेको छ”, उहाँले भन्नुभयो । 


अध्यक्ष बस्नेतले डिजिटल दुनियाँमा हाल फस्टाइरहेका अनलाइन र युट्युब सञ्चार माध्यमहरू कुनै स्वार्थ समूहबाट प्रयोग हुनसक्ने अवस्थाबाट सधैँ सचेत रहनुपर्नेमा जोड दिनुभयो । 


प्रेस काउन्सिलले दुई साताअघि मात्रै पत्रकारिताको आवरणमा गलत काम गर्ने ४३ वटा युट्युब माध्यमलाई कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको थियो । केही सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही बढाइरहेको छ ।
 

पत्रकार अभिमुखीकरणमा विषयगत विज्ञका रूपमा गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले पत्रकार आचारसंहिता र सूचना विभागका निर्देशक एवं प्रवक्ता भरत गौतमले विभिन्न सञ्चार निर्देशिका र पत्रकारका जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्