टीकाको अघिल्लो दिन जब छोराको शव आयो...

तनहुँ | असोज २६, २०८१

टीकाको अघिल्लो दिन जब छोराको शव आयो... सांकेतिक तस्वीर

तनहुँ:   तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुग्नुभएको थियो । एक वर्षअघि त्यहाँ पुग्नुभएका पन्थले १० महिने कोर्ष पूरा गरिसक्नुभएको थियो । आठ महिनापछि उहाँ पाइलट बन्दै हुनुहुन्थ्यो ।

    
छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताउनुभयो । 

    
यता नेपालमा रहेको पन्थ परिवार दसैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उहाँको मृत्यु भएको जनाइएको छ । 
    
    
कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादसैँको नवौँ दिन शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । दसैँका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ । बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् । आफन्त ईश्वरराज पन्थले भन्नुभयो, “ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।”

    
छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताउनुभयो । “आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्”, उहाँले भन्नुभयो । 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्