आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार

तनहुँ | असोज १६, २०८१

आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार

तनहुँ:    तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला सङ्घले गत साउन २५ गते रोपेको सयपत्री बिक्रीका लागि तयार भएको हो । 

    
सङ्घले ४० रोपनी क्षेत्रमा सयपत्री रोपेकामा पहिलो चरणमा दश रोपनी क्षेत्रफलको सयपत्री बिक्रीका लागि तयार भएको सङ्घका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “४० हजार बिरुवा रोपिएको थियो, अहिले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल बिक्रीका लागि तयारी अवस्थामा छ ।”

    
यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरेका छन् । महिला फूलखेतीमा आकर्षित रहेको बताउँदै उहाँले भन्नुभयो, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौँ, पालिकाबाट पनि हामीलाई सहयोग भएको छ ।” घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उहाँको भनाइ छ । 

    
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले उत्पादित फूल बिक्रीका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षमा पनि बजारीकरणका लागि पालिकाले सहयोग गरेको हो, अहिले पनि फूल बिक्रीका लागि पालिकाले सहयोग गर्नेछ ।” 


विभिन्न सभा समारोह, कार्यक्रमका लागि फूल चाहिएमा गाउँपालिकाको कृषि शाखा वा महिला समूहमा सम्पर्क गर्न सकिने केसीले बताउनुभयो । केसीले भन्नुभयो, “गत वर्ष पहिलोपटक यसै ठाउँमा सयपत्रीको फूल रोपिएको थियो, उत्पादन राम्रो भयो, यहाँको सयपत्री कतारसम्म पुगेको थियो ।”

    
सयपत्री फूलखेतीबाट महिला कृषक उत्साहित भएको भन्दै यस वर्ष पनि सयपत्री फूलखेतीलाई निरन्तरता दिइएको केसीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा सयपत्री फूलका बिरुवा उपलब्ध गराएको थियो । 


गाउँपालिकाले आयातीत तथा प्लास्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरुप गतवर्षदेखि सयपत्री फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको थियो । 

    
चुमानले भन्नुभयो, “धेरै मात्रामा प्लास्टिकजन्य फूल तथा माला प्रयोग भएको छ, यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पु¥याइरहेको छ, स्थानीय स्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो ।” 


चुमानले तिहारमा विदेशी प्लास्टिकका फूल तथा झिलीमिलीको सट्टा स्थानीय स्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएको बताउनुभयो । गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौं, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।” 

काठमाडौं:  देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता ...

थप पढ्नुहोस्

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जानुहुँदैछ । यही साउन २० देखि २३ गतेसम्म (५ देखि...

थप पढ्नुहोस्

पोखरा:   नेपाल हिमालय र पदयात्राका लागि मात्र नभई, योग, ध्यान तथा पूर्वीय दर्शनका अभ्यासहरूबाट मानसिक शान्ति खोज्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत एक प्रमुख आध्यात्मिक गन्तव्य बन्दै गएको एक अध्ययनले देखाएको छ...

थप पढ्नुहोस्