अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै

काभ्रेपलाञ्चोक | असोज १४, २०८१

अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै

काठमाडौं:    बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा शनिबार करिब दुई सय मिटर सडक रोशी खोलाको बाढीले बगायो । 


सडक सम्पर्क टुटेपछि यात्रु बाटोमै अलपत्र परेका थिए । अलपत्र परेका यात्रुको आइतबारदेखि हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ । 


राजधानीसँग मध्यपहाडी क्षेत्रहुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दुरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ को सीमास्थल उक्त स्थानमा रोशी खोलाको बाढीले कटान गर्दै करिब दुई सय मिटर सडक बगाएको हो । 


माथि ठूलो भीर भएको र रोशी खोलाको बहावका कारण आइतबारसम्म कुनैपनि स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन । पानीको बहाव घट्दै गएपछि आज भने रोशी क्षेत्रमा अलपत्र यात्रु हिँडेरै गन्तव्यतर्फ जान थालेका छन् । 


बाढीबाट सबैभन्दा बढी रोशी गाउँपालिका प्रभावित भएको छ । सडक सम्पर्क टुटेपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । 


आज दिउँसोसम्म रोशी क्षेत्रलगायत स्थानमा फसेका चार सय यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो । आइतबार तीनवटा हेलिकप्टरमार्फत रोशी गाउँपालिका, कोशीपूर्वस्थित भुम्लु, तेमाल गाउँपालिका र पनौतीको रोशी क्षेत्रबाट घाइते, बिरामीलगायतलाई उद्धार गरिएको उहाँले बताउनुभयो । 


“आज पनि बिहानैदेखि हेलिकप्टरमार्फत यात्रुको उद्धारकार्य जारी छ । हेलिकप्टरले उद्धार गर्न जाँदा राहत सामग्री बोकेर जाने र आउँदा विभिन्न स्थानमा अलपत्र परेका यात्रुलाई उद्धार गरिरहेको छ”, सहायक प्रजिअ पौडेलले भन्नुभयो । 


रोशी खोलाको बाढीले सडक मात्रै बगाएन, स्थानीयको करिब तीन सय रोपनी खेतसमेत कटान गरेको छ । स्थानीय गोविन्द गौतमले बाढीले बस्ती नजिकको  झोलुङगे पुलसमेत बगाएको बताउनुभयो । 


“हामी दैनिक कामको सिलसिलामा नमोबुद्धको भकुण्डे बजार र सदरमुकाम जानुपथ्र्यो, सडक नै बगाएपछि कतैबाट पनि जान सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । शनिबार बिहानैदेखि उर्लेको रोशी खोलाको बाढीले कटान गर्दै उक्त सडक बगाउँदा नजिकका बस्तीका बासिन्दा त्रासमा रहेको उहाँले बताउनुभयो । 


राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ रोशीको माम्तीका भ्याकुरे खोलाको बाढीले ह्युमपाइपसहित बगाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उहाँका अनुसार उक्त स्थानबाट पूर्वतर्फ जाने यात्रुको हेलिकप्टरबाटै उद्धार गर्नुपरेको छ । 


राजमार्गको मङ्गलटार क्षेत्रमा एक सय मिटर सडक पुरिएको छ भने राजमार्गकै नार्के बजारमा रोशी खोलाको बाढीले कटान गरी १२ घर बगाएको छ । रोशीमा बाढीका कारण ११ जनाको मृत्यु भएको छ । 


बाढी पहिरोले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ । उक्त क्षेत्रको विभिन्न स्थानमा सडक कटान गरेको छ भने सडक पुरिएको अवस्थामा रहेको स्थानीय रत्न लामाले बताउनुभयो । “सडक ठप्प छ, विद्यालय बन्द छन्”, उहाँले भन्नुभयो । पहाडी क्षेत्र भएकाले पहिरो त्रास रहेको लामाले सुनाउनुभयो । 

 

चौकीडाँडामा सडक भत्केपछि पैदलयत्रासमेत गर्न कठिन भएको स्थानीय राजेन्द्र श्रेष्ठले बताउनुभयो । “सदरमुकामसँगको सम्पर्क टुटेको छ, गाउँमा बिजुली छैन, टेलिफोन गर्नसमेत समस्या  छ”, उहाँले भन्नुभयो । श्रेष्ठका अनुसार बगेको सडक पुनःनिर्माण गर्न समय लाग्ने देखिएको छ । 

 

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा हालको बाढीपहिरोबाट ५७ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । आज दिउँसोसम्म तीन हजार दुई सय ७४ जनाको उद्धार गरिएको छ । चार जना अझै बेपत्ता रहेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्य जारी राखिएको छ । 

काठमाडौं:     बडा दसैँ अर्थात् नवरात्रको तेस्रो दिन आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा पूजा, ...

थप पढ्नुहोस्

म्याग्दी:     म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो ।       रघ...

थप पढ्नुहोस्

मकवानपुर:     पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  ...

थप पढ्नुहोस्