अन्तर्वार्ता: लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’

काठमाडाैं | असोज ९, २०८१

अन्तर्वार्ता: लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’

 

काठमाडौँ:    वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्नुभएका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैङ्कमा तीसवर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त हुनुभएको हो ।

 

राष्ट्र बैङ्कबाट सेवा निवृत्त भएपश्चात् कार्कीले साबिकको ग्रामीण विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्ष र कोषमा आउनुअघि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्नुभएको थियो ।

 

प्रस्तुत छ, कोषका कार्यकारी निर्देशक कार्कीसँग गरिएकाे कुराकानीको सम्पादित अंश ।

 

 

-कोषले २९औँ वार्षिक साधारणसभा केही समयअघि सम्पन्न गरेको छ । साधारणसभाले के सन्देश दिएको छ ?

 

कोषले हालका वर्षमा साधारणसभा नियमित रुपमा गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७९÷८० को वार्षिक साधारणसभा असार मसान्तभित्रै सम्पन्न गरेको छ । यो कोषको २९औँ साधारणसभा हो ।

 

साधारणसभाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । कोषको ३३ वर्षको इतिहास सन्तोषजनक रहेको छ । कोषले नियमित रुपमा आफ्ना शेयरधनीहरुलाई उचित प्रतिफल दिँदै आएको छ ।

 

एक करोड ४४ लाखको चुक्ता पुँजीबाट स्थापना भएको कोषको पुँजीमा धेरै ठूलो वृद्धि भएको छ । कोषले आव २०७९÷८० वितरण गरेको बोनश शेयरपश्चात कोषको चुक्ता पुँजी छ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।

 

-अहिले कोषले के कस्ता योजनाहरु सञ्चालन गरिरहेको छ ?

 

कोषले अवकाश कोष व्यवस्थापन तथा सामाजिक सुरक्षाका सम्बन्धमा विगतदेखि नै काम गर्दै आइरहेको छ ।

 

कोषले सञ्चालन गरेका कार्यक्रमरुमा कर्मचारी बचत वृद्धि अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोषलगायतका योजना रहेका छन् ।

 

कोषले साना तथा मझौलास्तरका बचतकर्ताहरुको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्ने उद्देश्यका साथ कर्मचारी बचत वृद्धि लगायतका योजना सञ्चालन गरेको छभने सार्वजनिक संस्थान र अन्य सङ्गठित सङ्घसंस्थालाई आफ्नो दीर्घकालीन दायित्व व्यवस्थापनका लागि क्रमिक रुपमा कोषमा रकम जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारी क्षेत्रका साथै अन्य क्षेत्रमा समेत सामाजिक सुरक्षा प्रदान गर्ने लगायतका कार्य गर्दै आइरहेको छ ।

 

यसका अतिरिक्त आम नेपाली नागरिकलाई समेट्ने गरी नागरिक पेन्सन योजनासमेत सञ्चालनमा ल्याएको छ ।

 

साथै, पुँजी बजारको विकासमा सघाउ पुग्नेगरी पुँजी बजारसम्बन्धी विभिन्न गतिविधिहरुमा समेत कोष संलग्न रहेको छ ।

 

-सहभागीलाई दिने सेवालाई कसरी चुस्त राख्नु भएको छ ?

 

कोषले आफ्नो सेवालाई प्रभावकारी बनाउन यान्त्रिकीकरणमा विशेष जोड दिएको छ । कोषको हिसाबकिताबलाई चुस्तदुरुस्त राख्न अटोमेसनलाई कोषले विशेष प्राथमिकतामा राखेको छ ।

 

कोषको काम कारबाहीलाई बढीभन्दा बढी यान्त्रिकीकरण गर्न कोषले डिजिटलाइजेसनलाई विशेष महत्वका साथ अघि बढाएको छ । यसबाट क्रमिक रूपमा कागजरहित सेवा बढाउँदै लान मद्दत मिल्नेछ ।

 

हालै सेवाग्राहीलाई अनलाइन पेमेन्ट तथा सूचना लिने सुविधाका लागि कोषले सिआइटी स्मार्ट मोबाइल एप विकास गरी कार्यान्वयनमा ल्याएको छ । यो एप डाउनलोड गरेर सेवाग्राहीले विभिन्न किसिमका सेवा र सुविधा लिन सक्नेछन् ।

 

सेवाग्राहीबाट सङ्कलन हुने रकमलाई सरकारको केन्द्रीय लेखा प्रणाली, स्थानीय निकायहरुलाई समेटेर बनाएको प्रणालीको माध्यमबाट रकम जम्मा गर्ने पूर्वाधार विकास गरिएको छ ।

 

-कोषले कुन क्षेत्रमा कति लगानी गरिरहेको छ ?

 

गत आवको असार मसान्तसम्म कोषमा रु २४९ अर्ब कोष मौज्दात जम्मा भएको छ । सो समयमा कोषको लगानी रु २४३ अर्ब रहेको छ । त्यसमध्ये करिब ५३ प्रतिशत रकम वाणिज्य बैङ्कहरुको मुद्दती निक्षेपमा लगानीमा रहेको छ ।

 

करिब २२ प्रतिशत सहभागी कर्जाका रुपमा लगानी छभने संस्थागततर्फ कोषको कर्जाको अंश करिब ११ प्रतिशत रहेको छ । सरकारी ऋणपत्र, सङ्गठित संस्थाको शेयर धितोपत्र र बण्डलगायतमा कोषले करिब १३ प्रतिशत लगानी गरेको छ । यसका अतिरिक्त कोषले पुँजी बजारतर्फ दोस्रो बजारमा पनि नियमित रुपमा लगानी गरिरहेको छ ।

 

लगानीको तथ्याङ्क हेर्दा कोषको लगानी अझै पनि निक्षेपतर्फ बढी देखिन्छ । यसलाई विविधीकरण गर्न कोष विशेष रुपमा प्रयत्नशील रहेको छ ।

 

-कोषले आम नागरिकलाई कसरी समेटिरहेको छ ?

 

कोषका योजनाहरुमध्ये धेरैजसो योजनहरु राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घसंस्थामा कार्यरत कर्मचारी लक्षित रहेका हुँदा आम नागरिकलाई समेत समेट्ने गरी कोषले विगत केही वर्षदेखि नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।

 

यस योजनामा मुलुकभर बस्ने दूरदराज, गाउँठाउँका नागरिकलाई समेत समेट्ने लक्ष्यसहित योजना सञ्चालनमा ल्याइएको हो ।

 

यसका अतिरिक्त विदेशमा रहेका, वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ, दिदीबहिनीलाई पनि उहाँहरुले कमाएको केही पैसा अवकाश कालमा सदुपयोग होस् भनी त्यस्ता वर्गलाई कोषमा समाहित गर्ने लक्ष्यसमेत नागरिक पेन्सन योजनामा रहेको छ ।

 

 

-कुन क्षेत्रमा लगानी गर्ने सोच्नुभएको छ ?

 

कोषले लगानी विविधीकरणलाई मूल एजेन्डाका रुपमा अगाडि सारेको छ । यही अनुसार वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गरेर कोष अगाडि बढेको छ ।

 

विविधीकरणको क्षेत्र पहिचान गर्ने क्रममा सरकारको प्राथमिकतामा रहेको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाइने छ ।

 

नेपालको परिवेशमा हेर्दा हाल जलविद्युत्को क्षेत्र नै सबैभन्दा प्रमुख प्राथमिकता भएको र राम्रो भविष्य भएको क्षेत्र रहेकाले यसतर्फ लगानी विस्तार गर्ने सोचाइ छ ।

 

अहिले पनि विभिन्न जलविद्युत् आयोजनामा लगानी गर्ने सन्दर्भमा द्विपक्षीय छलफल र वार्ता अगाडि बढिरहेको छ । यसैगरी, कृषि क्षेत्रमा के कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ समेत अध्ययन भइरहेको छ । विशिष्टीकृत फन्डमार्फत विभिन्न उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि नीतिगत व्यवस्था गर्न आवश्यक देखिएको र उक्त दिशामा समेत कार्य भइरहेको छ ।

 

‘प्राइभेट इक्विटी फन्ड’तर्फ जाने सम्बन्धमा पनि कोषले छलफल अगाडि बढाएको छ ।

 

लगानी विविधीकरणका सन्दर्भमा लगानी कोष ऐनले कोषलाई क्यापिटल मार्केटमा नेतृृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रुपमा समेत राखेको हुँदा कोषको सहायक कम्पनीका रुपमा नागरिक ‘स्टक डिलर’ सञ्चालनमा रहेको छ ।

 

उक्त स्टक डिलर पुँजी बजारमा सक्रिय रहेको छ । यो पनि कोषको एउटा लगानीको पाटो जस्तै रहेको छ ।

 

यसको अलावा पुँजी बजारमा सक्रिय भूमिका बढाउने, पुँजी बजारतर्फ लगानीलाई उल्लेखनीय बढाउने सोचाइसमेत कोषको रहेको छ ।

 

-कोषलाई सेवाग्राहीले कसरी लिने ?

 

सेवाग्राहीले कोषलाई जसरी विश्वास गर्नुभएको छ, कोषले पनि सुरक्षित लगानीमार्फत उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्दछ ।

 

सहभागीले मिहेनत गरेर कमाएको पैसालाई कोषले सुरक्षित लगानी गर्छ । सहभागीहरुलाई अन्य किसिमका सेवासुविधा दिने, ब्याजदरको अलावा बोनस÷प्रतिफल दिने कार्य पनि कोषले गरिरहेको छ ।

 

सहभागीहरुलाई बीमा, औषधोपचार लगायतको सुविधा दिनेतर्फ कोषले काम गर्नेछ ।

 

कोषप्रति विश्वास गर्न र कोषका विभिन्न योजना कार्यक्रमहरुमा सहभागी हुन सबैलाई आग्रह गर्न चाहन्छु ।

 

राष्ट्रसेवक कर्मचारीहरु तथा अन्य सङ्घसंस्थाका कर्मचारीहरुका लागि सञ्चालन गरिएका कार्यक्रमहरुका अतिरिक्त आम नेपाली नागरिक विशेषतः वैदेशिक रोजगारीमा जानु भएका दाजुभाइ दिदीबहिनीहरुलाई समेत लक्षित गरेर कोषले नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।

सुनसरी:    निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।      आज बिहान ७ बजे तीन ला...

थप पढ्नुहोस्

सिन्धुपाल्चोक:     सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।  लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा न...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा...

थप पढ्नुहोस्