पर्वत अस्पतालले स्वास्थ्य बीमाको २ करोड ९५ लाख पाएन
काठमाडाैं | असोज ७, २०८१
पर्वत: लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ ।
स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै रु तीन करोड भुक्तानी पाउन नसकेको हो ।
गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा डाइलाइसिसबापतको रु दुई करोड ९५ लाख १७ हजार पाँच सय २२ रकम भुक्तानी लिन नसक्दा अस्पतालका अन्य सेवा प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।
अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको उहाँले बताउनुभयो ।
स्वास्थ्य बीमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीको तलबभत्ता भुक्तानी तथा अन्य नियमित काममा समस्या परेको डा बाँस्तोलाले बताउनुभयो ।
रकम भुक्तानीका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।
स्वास्थ्य बीमा गरेका बिरामी सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्नुहुन्छ, उनीहरूलाई सेवा दिनैपर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको छ ।
अस्पताल व्यवस्थापन समितिको कोषवाट जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब सङ्कट सिर्जना हुन थालेको उहाँको भनाइ छ ।
“अहिले डेङ्गीको जोखिम छ, बिरामीले अस्पताल भरिभराउ छ, सरकारले दिएको डेङ्गी परीक्षण कीटले नपुगेर अस्पताल व्यवस्थापन समितिले आफैँ खरिद गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “सरकारबाट बीमाको रकम भुक्तानी नआउँदा खरिद प्रक्रियासमेत अवरोध भइरहेको छ ।”
पर्वतमा स्वास्थ्य बीमामा आबद्ध भएका झण्डै ४२ प्रतिशत नागरिकले अस्पतालबाट सेवा लिने गरेका छन् ।
सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो ।
स्वास्थ्य बीमा बोर्ड अस्पतालबाट प्राप्त बिल भर्पाइका आधारमा उक्त रकम स्वास्थ्य मन्त्रालयमा माग गरिएको भए पनि भुक्तानी नआउँदा अस्पताल सङ्कटमा पर्न थालेको उहाँको भनाइ छ ।
एक परिवारका लागि रु तीन हजार पाँच सयको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले रु एक लाख बराबरको बीमा रकम भुक्तानी दिने गर्दछ ।
पाँच जनाभन्दा बढी सदस्य रहेको साधरण परिवारको हकमा प्रतिसदस्य थप रु सात सय योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा रु एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम रु दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ । अस्पतालमा पछिल्ला केही वर्षयता बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ ।
अस्पतालको नयाँ भौतिक संरचना निर्माणसँगै १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएपछि बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको हो । आव २०८०/ ८१ मा झण्डै ६० हजार बिरामीको उपचार गरिएको पर्वत अस्पतालले जनाएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा बाँस्तोलाका अनुसार सीमित स्रोत र जनशक्तिका बीच बिरामी उल्लेख्य मात्रामा उपचारका लागि आएको बताउनुभयो ।
उहाँका अनुसार आव २०७९/८० मा ५२ हजार चार सय ६६ जनाको उपचारका लागि आएका थिए भने त्यसभन्दा अघिल्लो वर्ष ३९ हजार बिरामीले सेवा लिएका थिए ।
अस्पतालबाट विशेषज्ञ सुविधासँगै ५० शय्यामा विस्तार भएपछि विगतका वर्षहरुमा भन्दा सेवाग्राहीको चाप ह्वात्तै बढेको छ ।
दुई वर्ष अगाडि दैनिक एकदेखि डेढ सय जानाको स्वास्थ्य परीक्षण हुने गरेकामा अहिले दैनिक करिब तीन सय पुगेको छ ।
भौतिक संरचना निर्माण र सेवा विस्तार भए पनि सरकारले ५० शय्याको अनुमति नदिँदा समस्या भइरहेको डा बास्तोलाले बताउनुभयो । अस्पतालमा अझै बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञलगायतको अभाव रहेको उहाँको भनाइ छ ।
अहिले अस्पतालवाट नियमित स्वास्थ्य परीक्षणसँगै १० शय्याको डायलासिस सेवा, आँखा रोग, दन्त रोग, शल्यक्रियामार्फत सुत्केरी सेवा, हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिसलगायत सामान्य खालका शल्यक्रिया सेवा, इसिजी, एक्सरेलगायतका सेवा सञ्चालन भइरहेका छन् ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

