नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी | असोज ७, २०८१

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी:   नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।

 

नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।

 

मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो रु एक सय सातका दरले लोक्ता बिक्री हुने बताउनुभयो ।

 

“दरवाङ थापाचौर र तमानखोलाको नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ लोक्ता सङ्कलन गर्न वन समूहको कार्ययोजनाअनुसार १५ वर्षपछि खुला गरिएको छ”, उहाँले भन्नुभयो, “फुर्सदको समयमा जङ्गलको लोक्ता जम्मा गरेर उपभोक्ताले आम्दानी गरेका छन् ।”

 

यसअघि मालिका–३ अदिभारामा रहेको मालिका हातेकागज उद्योग गत भदौमा थापाचौरमा स्थानान्तरण गरी पुनःसञ्चालन भएपछि लोक्ता बिक्री हुन थालेको हो ।

 

उद्योग बन्द हुँदा जङ्गलमा लोक्ता खेर गइरहेको थियो । म्याग्दीमा हाल उक्त हातेकागज उद्योग मात्र सञ्चालनमा छ ।

 

पाखापानी र लमसुङमा रहेको हाते कागज उद्योग बन्द छन् । नागीको उद्योग आंशिक रूपमा सञ्चालनमा छ । माघदेखि वैशाखसम्म लोक्ता निकाल्ने गरिएको बासराते सामुदायिक उपभोक्ता समूह जेमका अध्यक्ष सतप्रसाद पुनले बताउनुभयो । कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग भएको उहाँले बताउनुभयो ।

 

जङ्गलमा गाईवस्तु चराउने क्रममा गोठालाहरूले लोक्ता सङ्कलन गर्छन् ।

 

बराहताल, बासरातेलगायत मालिका गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाका सामुदायिक वन समूहका ८५ जनाबाट मालिका कागज उद्योगले यस वर्ष चार हजार किलोग्राम लोक्ता खरिद गरेको सञ्चालक मोतिराज गौतमले बताउनुभयो ।

 

“एकजनाबाट अधिकतम रु ३० हजारसम्मको लोक्ता खरिद भएको छ”, उहाँले भन्नुभयो, “एक जनाले सरदर रु १० देखि १५ हजारका दरले आम्दानी गरेका छन् ।”

 

समुद्री सतहबाट तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाइको जङ्गलमा पाइने अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज तयार पारिन्छ ।

 

सुकेको लोक्तालाई एक हप्तासम्म पानीमा भिजाउने, पकाएर बनेको लेदोलाई आवश्यकतानुसार विभिन्न आकारको जाली भएको फ्रेममा राखेर घाममा सुकाएपछि नेपाली कागज तयार हुन्छ ।

 

नेपाली कागजमा लेखेको अक्षर नउड्ने भएकाले लामो अवधिसम्म रहने अभिलेख प्रिन्ट गर्न प्रयोग हुन्छ । अदालत, प्रहरी, प्रशासन, स्थानीय तह, सहकारी, बैंक, वित्तीय संस्थाहरूले महत्त्वपूर्ण प्रतिवेदन, अभिलेख र निर्णय तथा पत्रका लागि नेपाली हातेकागज प्रयोग गर्छन् ।

 

समुदायस्तरमा चिना, तमसुक लेख्न पनि नेपाली कागज प्रयोग गर्ने चलन छ ।

 

म्याग्दीमा उत्पादन हुने नेपाली कागज जिल्लाभित्रका साथै, बागलुङ, कास्की र काठमाडौँमा खपत हुने गरेको छ । आकार र तौलअनुसार फरक–फरक मूल्यमा कागज बिक्री हुन्छ ।

 

सबैभन्दा कम चार दशमलव पाँच ग्रामको एउटा कागजको साढे चार रुपैयाँ पर्छ ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्री र मुख्यसचिवहरुबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथ...

थप पढ्नुहोस्

पोखरा: पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेश लगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ। सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सब...

थप पढ्नुहोस्