लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ | असोज ४, २०८१

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउदै आउनुभएका पोखराका नारायण पौडेल विदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोशेली स्याउ किनेर लैजाने गर्नुहुन्थ्यो ।

 

उहाँका अनुसार कागबेनीमा छिटपुट रुपमा मात्रै स्याउ उत्पादन हुन्थ्यो ।

 

“ तत्कालीन समयमा बोकेर लैजानुपर्ने भएकाले सबैभन्दा तल पर्ने लेते–घाँसामा बोटबाट आफैले टिपेर घर जाँदा स्याउ लैजाने गरिन्थ्यो,” उहाँले तीन दशकअघिको स्मरण गर्नुभयो “अहिले घाँसा, लेतेमा स्याउको बगैचानै छैन् । उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङमा स्याउ फल्न थालेको छ ।”

 

दशकअघिसम्म जोमसोम र मार्फाबाट स्याउ किनेर लैजाने लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराकी छेमा गुरुङले तीन हजार नौ सय मिटर उचाइमा अवस्थित घारा गाउँको बगैचामा स्याउ फलाउन थाल्नुभएको छ ।

 

“पहिले धेरै स्याहार सुसार र मेहनत गरेपनि स्याउ फल्ने गरेको थिएन,” उहाँले भन्नुभयो “तापक्रम बढ्न र मौसममा आएको परिवर्तनका कारण अहिले घारामा पनि सजिलै स्याउ फल्न थालेको छ ।”

 

मुस्ताङको मौसम र तापक्रममा आएको परिवर्तनको असर प्रमुख कृषिबाली स्याउ खेतीमा पनि देखिएको कृषक र प्राविधिकहरुले बताएका छन् । तल्लो क्षेत्रमा नासिदै गएको स्याउ खेती माथिल्लो भेगमा फैलिदै र फस्टाउन थालेको छ ।

 

थासाङ गाउँपालिका–२ कोवाङका कृषक जीवन थकालीले तापक्रम वृद्धि र नयाँ रोग देखिन थालेपछि स्याउखेतीमा चुनौति सिर्जना भएको बताउनुभयो ।

 

“पहिलेको तुलनामा धेरै पानी पर्ने, सिजनमा हिउँ नपर्ने, बेसिजनमा हिउँ पर्ने र कम फल लाग्ने समस्या देखिएको छ,” उहाँले भन्नुभयो “बगैचा व्यवस्थापन, सिचाई र किराबाट बचाएर स्याउ खेतीलाई निरन्तरता दिएका छौ ।”

 

कोवाङ क्षेत्रको बगैचाको स्याउमा दादे रोग चुनौतिका रुपमा देखिएको थकालीले बताउनुभयो ।

 

स्याउ खेती हुन छाडेपछि लेते, कुञ्जो, कोवाङ, घासाँका कृषकहरुले विकल्पमा ओखर खेती गर्न थालेका छन् ।

 

जोमसोम देखि तल्लो भेगमा अत्याधिक स्याउ खेती हुने भएकाले वि.स. २०२३ मा सरकारले मार्फामा शीतोष्ण बागवानी विकास केन्द्र स्थापना गरेको थियो ।

 

स्याउ लगायत हिमाली फलफुल, तरकारी र खाद्यबालीको अध्ययन, जैविकीय गुणको संरक्षण र विउको विकास गर्दै आएको केन्द्रका प्रमुख पद्यमनाथ आत्रेयले मुस्ताङमा स्याउ खेती उकालो चढ्दै गएको बताउनुभयो ।

 

“सैद्धान्तिक हिसाबले समुन्द्रि सतहदेखि दुई हजार देखि तीन हजार मिटरको उचाईको भूगोलमा स्याउ खेती हुनुपर्ने हो,” उहाँले भन्नुभयो “दुई हजार मिटर उचाईको भूगोलमा स्याउ खेती नासिएको छ । चार हजार मिटरको उचाईमा स्याउ उत्पादन हुन थालेको छ ।”

 

स्याउको परागशेचनका लागि चिसो हावापानी र मौसम आवश्यक पर्छ । उच्च गुणस्तरको जातका स्याउ परागशेचन हुन एक हजार देखि एक हजार छ सय घण्टा सात डिग्री भन्दा कम तापक्रम आवश्यक पर्छ ।

 

मध्यम गुणस्तरको स्याउलाई छ सय देखि एक हजार घण्टा र कम गुणस्तरको स्याउको परागशेचनका लागि चार सय देखि छ सय घण्टा सम्म सात डिग्री भन्दा कम तापक्रम आवश्यक पर्छ ।

 

स्याउको परागशेचन हुने समयमा तल्लो मुस्ताङको तापक्रम न्युनतम १६ देखि अधिकतम २१ डिग्री हुँदा गत वर्ष उत्पादन ४० प्रतिशतले घटेको थियो ।

 

चालीस प्रजातिका स्याउको संरक्षण गरिरहेको केन्द्रले तापक्रम प्रतिकुल हुन थालेपछि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–२ घमीमा बागबानी फार्मको शाखा स्थापनाको तयारी गरेको केन्द्रका प्रमुख आत्रेयले बताउनुभयो ।

 

“जलवायु परिवर्तनको सामना गर्दै स्याउको जिन संरक्षणका लागि माथिल्लो क्षेत्रमा शाखा कार्यालय खोल्नुपर्ने अवस्था आएको हो,” आत्रेयले भन्नुभयो “स्थानीयले पनि स्याउ खेती गरिरहेको घमीको भूगोल र हावापानी उपयुक्त देखिएकाले जग्गा प्राप्तिको प्रक्रीया अघि बढाएका हौ ।”

 

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण खेती हुने भूगोल फेरिनुका साथै स्याउ छिटो पाक्न थालेको छ ।

 

पहिले असोज लागेपछि गुलीयो पस्ने गरेकोमा यसपाली गर्मी धेरै भएकाले भदौको दोस्रो हप्तामै खान योग्य भएको घरपझोङ गाउँपालिका–२ मार्फाका ७९ वर्षीय लालप्रसाद हिराचनले बताउनुभयो ।

 

“पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउदैनथ्यो,” उहाँले भन्नुभयो “यसपाली विगतका वर्ष भन्दा धेरै गर्मी महशुस भएको छ । स्याउ पनि १५–२० दिन अघिनै पाक्न थालेको छ ।”

शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ ।   असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गसहित यहाँ...

थप पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्न...

थप पढ्नुहोस्

हेटौँडा:   विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ ।   जनताबाट निर्वाचित प्रतिनिधिले पहिलोपटक संविधानसभाबाट २०७२ असोज ३ गते ...

थप पढ्नुहोस्