मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै

काठमाडाैं | असोज ३, २०८१

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै

काठमाडौं:   अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । 


मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलपहल बढ्दै छ । मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । उपत्यकाका डाँडा र उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ । यस्तो अवस्थामा अब पर्यटन क्षेत्र थप चलायमान बन्दै जाने व्यवसायीको विश्वास छ ।


मौसम खुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल ९हान०का अध्यक्ष विनायक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मौसममा आन्तरिक पर्यटन एकदमै राम्रो छ, चाडपर्वसँगै बिदा मनाउनेहरू गन्तव्यमा निस्किएका छन् । अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।”


हानकानुसार अहिलेको अवस्थामा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार बनिसकेका छन् । तारे होटल र चेन होटल धमाधम थपिँदैछन् । शरद ऋतु पदयात्राका लागि पनि उपयुक्त मौसम पनि हो । अन्नपूर्ण, लाङटाङ, खुम्बु, मुस्ताङ, मनाङ, खप्तडलगायत गन्तव्यमा पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक निस्कन्छन् । यही सिजनमा मनास्लुलगायत हिमालको आरोहणमा आरोहीको आकर्षण हुन्छ ।
    

पर्यटकीय सिजन सुरु भएको र महत्वपूर्ण चाडपर्व नजिकिएकाले पर्यटन चलायमान बन्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० दीपकराज जोशीले बताउनुभयो । 


“मौसम पनि पर्यटनमैत्री बन्दैछ, पर्यटकीय सिजन पनि सुरु भएकाले यो क्षेत्र चलायमान बन्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “अब पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर नीतिगत सुधार र प्रवर्द्धनका कामलाई प्रभावकारी रूपमा अगाडि बढाइने छ । त्यसले पनि व्यवसायीमा थप उत्साह थप्ने विश्वास लिएका छौँ ।”


बोर्डले विदेशी पर्यटक आगमन बढोत्तरीका लागि अन्तर्राष्ट्रियस्तरमा आक्रामक रूपमा बजारीकरण गर्ने योजना रहेको जनाएको छ । “पर्यटक आगमन सुधार गर्न बोर्डले पहिलो प्राथमिकता ‘एग्रेसिप मार्केटिङ प्रमोसन’ गर्ने हो, विद्यमान बजार मात्रै नभएर नयाँ नयाँ गन्तव्य पहिचान गरेर प्रभावकारी बजारीकरण गर्ने योजना छ”, बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले भन्नुभयो ।


बोर्ड र निजी क्षेत्रको सहकार्यबाट पर्यटकीय गतिविधिलाई चलायमान बनाउन लागि पर्ने उहाँले उल्लेख गर्नुभयो ।


जोशीले पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम बनाइरहेको जानकारी दिनुभयो । होटललगायत पर्यटकीय पूर्वाधारमा ठूलो लगानी रहेको र पर्यटक आगमनमा झिनो सुधार भएकाले सन् २०२४ मा कोभिड महामारी पूर्वको पर्यटक आगमन अवस्थामा पुर्याउन लागिपर्ने उहाँले बताउनुभयो ।


हानका अध्यक्ष शाहले अहिले होटल बुकिङ राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय सिजन भएकाले बुकिङ र पर्यटकको चासो राम्रो छ, पर्यटकीय पूर्वाधार, गन्तव्य प्रवर्द्धनका साथै हवाई तथा सडक यातायातलाई चुस्त र प्रभावकारी बनाउन सकिएमा आगामी दिनमा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।”


नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०का अध्यक्ष कुमारमणि थपलियाले पर्यटकीय सिजन सुरु भएकाले पर्यटन क्षेत्रमा चहलपहल बढेको बताउनुभयो । 


“सिजन सुरु भएको छ, ट्राभलका लागि बुकिङ बढेको छ, यसले व्यवसायीलाई उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो, “पर्यटक बढाउन हवाई सेवालाई सर्वसुलभ बनाउदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई सवलीकरण गरेको खण्डमा पर्यटक बढ्ने छन् ।”


सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । बोर्डकानुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
 

मौसम खुलेकाले धुलिखेल, नगरकोट, चन्द्रागिरि हिल्स, जरसिङ्ह पौवा, सुन्दरीजल, शिवपुरी, चोभारलगायत गन्तव्यमा पर्यटकीय चहलपहल बढेको व्यवसायीले बताएका छन् । 


होटल व्यवसायी दिनेश बस्नेतकानुसार उपत्यकाका पवित्र तीर्थस्थल, धार्मिक तथा पुरातात्त्विक क्षेत्रमा घुम्नेको पनि भीडभाड देखिन्छ । पशुपति क्षेत्र, स्वयम्भू, चाँगुनारायण, दक्षिणकालीलगायत धार्मिकस्थलमा तीर्थालु भक्तजनको घुइँचो लागेको छ । त्यस्तै प्रमुख पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढेका छन् ।


त्यसो त यो सिजन पदयात्रा र पर्वतारोहणका लागि पनि उपयुक्त हो । यतिखेर उल्लेख्य सङ्ख्यामा पर्यटक गन्तव्यतिर निस्केका छन् । मौसमले साथ दिएकाले पर्वतारोहण र पदयात्रा सहज भएको पर्यटन विभागले जनाएको छ । 


विभागको पर्वतारोहण शाखाकानुसार मनास्लु आरोहणका लागि हालसम्म  २८ आरोही समूहका तीन सय आठ आरोहीले अनुमति लिएका छन् । मकालु र धौलागिरीमा समान एक आरोही समूहले अनुमति लिएका छन भने अन्य हिमाल तथा चुली आरोहणमा अझै आरोहीले धमाधम अनुमति लिइरहेका छन् । सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।


जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन बाहिरिने सङ्घारमा रहेको बताउनुभयो । नेपालमा सरदर १३ जुनमा मनसुन सुरु हुन्छ । अक्टोबर २ बाट मनसुन बाहिरिन्छ । यसवर्ष भने १० जुन अर्थात् सरदर तीन दिनअघि नै मनुनी वायु प्रवेश गरेको थियो । 


मौसमले साथ दिएकाले अहिले पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको नेपाल पर्वतारोहण सङका महासचिव मोहन लम्सालले बताउनुभयो । “पर्यटकीय चहलपहल राम्रै बढेको छ, बीचमा मौसमले केही समस्या आए पनि पछिल्ला दिनमा मौसम सफा रहेसँगै पर्यटकलाई आवागमन र दृश्यावलोकनलाई सहज तुल्याएको छ”, उहाँले भन्नुभयो ।


मौसम खुलेसँगै हवाई उडान विशेषगरी पर्वतीय उडान ९माउन्टेन फ्लाइट०मा पनि आकर्षण बढेको छ । अक्टोबर र नोभेम्बर पर्वतीय उडानका लागि राम्रो मानिन्छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र हिमशृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्ने बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताउनुभयो । 


पर्यटन बोर्डलाई सक्रिय बनाउने तथा दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजाबाहकको सवलीकरण र अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरण गरेर विदेशी पर्यटक आकर्षण गर्न सके भूमम्प, कोरोना महामारीका समयमा शिथिल बनेको पर्यटन क्षेत्र अब पूर्ण लयमा फर्किने व्यवसायीको विश्वास छ ।  

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्