दशैंका लागि असोज १३ देखि नयाँ नोट साट्न पाइने

काठमाडाैं | भदौ २६, २०८१

दशैंका लागि असोज १३ देखि नयाँ नोट साट्न पाइने

काठमाडौँ:    नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।

 

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बडादशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो ।

 

“नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८१ असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामार्फत भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।”

 

सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएरसमेत सफा तथा सुकिलो नोट साट्न सक्नेछन् ।
     

विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

 

सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो ।
    
 

दसैँको मुखमा सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र त्यसपछि ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकको भनाइ छ ।

 

विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन् ।

 

ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रँने तथा कुहिने अवस्था सिर्जना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हुने भन्दै राष्ट्र बैंकले चलनचल्तीकै सुकिलो र सफा नोट साट्न लागेको हो ।
     

चाडबाडका समयमा मुख्यतय: रु पाँच, १०, २०, ५० र १०० दरका नोटहरुको माग अत्यधिक हुने गरेको छ ।

 

साना दरका यस्ता नोटको होल्डिङ लागत न्यून हुनेहुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटहीगरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलनसमेत रहेको पाइन्छ ।

 

पाँच सय र एक हजार दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाडलक्षित कारोबारअनुरुप माग हुने गरेको छ ।
     

देशभर नोटको आपूर्ति गर्ने र पुराना तथा मैला नोटलाई खिचेर प्रतिस्थापन गर्दै जाने कार्य नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ ।

 

मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो । आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना मैला नोटहरु खिचेर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो ।

 

बैंक नोट छपाइको काम अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट विदेशमा हुने गरेको छ । नोट छपाइमा विदेशी मुद्राको ठूलो राशि खर्च हुने भएकाले त्यसमा कमी ल्याउनका लागि पनि नोट सफा राखिराख्नु आवश्यक छ ।

 

चलन चल्तीमा गुणस्तरीय, विश्वस्त र सफा नोटमात्र चलन चल्तीमा ल्याउने तथा मक्किएका, च्यातिएका, गलेका पुराना तथा मैलो नोटहरु प्रशोधन तथा जलान मार्फत चलन चल्तीबाट हटाउँदै लैजाने काम राष्ट्र बैंकले गर्दै आएको छ ।

 

बैंक तथा वित्तीय संस्थामा रहेका नोटलाई गुणस्तर हेरी वर्गीकरण गरेर राख्नुपर्ने व्यवस्था रहेको र यसलाई कार्यान्वयन गरे नगरेकोबारे राष्ट्र बैंकले अनुगमनसमेत गर्ने गरेको सहायक प्रवक्ता पोखरेलले बताउनुभयो । 

 

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर अङ्क, चित्र तथा सुरक्षण विशेषता नबुझिने वा बिग्रिनेगरी रङ लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको वा पूर्वराजाको तस्वीर अङ्कित नोटलाई पुनःनिष्काशन अयोग्य नोटका रुपमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंक नष्ट गर्ने गरेको छ ।

पोखरा:    संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   गण्डकी प्रदेश सरकारको आयोजनामा आज पोखरामा संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवस मनाइएको ...

थप पढ्नुहोस्

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज हो भन्नुभएको छ ।...

थप पढ्नुहोस्

काठमाडौं:    आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ ।  शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउ...

थप पढ्नुहोस्