पोखरा आसपासमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढ्यो
पाेखरा | भदौ २३, २०८१
photo:RSS
पोखरा: गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो ।
पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार यहाँस्थित पन्छी समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा आसपासका क्षेत्रमा गिद्धको गणना गरेको थियो ।
सन् २०२३ मा तीन सय ८७ गिद्ध अध्यावधिक गरिएकामा यस वर्ष यो सङ्ख्या बढेर चार सय ७१ पुगेको उहाँले जानकारी दिनुभयो । अध्ययनका क्रममा तनहुँ क्षेत्रमा पनि गिद्धको सङ्ख्या बढेको पाइएको उहाँले बताउनुभयो ।
कास्कीको घाचोक, बाच्छेबुडुवा, पुम्दी–भुम्दी, विजयपुर खोला करिडोर, लामेआहाल तथा तनहुँको गाछेपानी, सिशुवारभतेरी र दमौली ल्याण्डफिलसाइट गरी एकैपटक आठ स्थानमा छुट्टाछुट्टै टोलीले गणना गरेको घिमिरेले जानकारी दिनुभयो ।
गणनामा सङ्कटापन्न गिद्धको सूचीमा रहेको सेतो गिद्ध सबैभन्दा धेरै बढेको देखिएको छ भने अति–सङ्कटापन्न सूचीमा रहेको सुन गिद्ध, सानो खैरो गिद्ध र डङ्गर गिद्धको सङ्ख्यामा पनि सामान्य वृद्धि भएको पाइएको छ । राज गिद्ध यथास्थितिमा छ भने हिमाली गिद्ध घटेको अध्ययनले देखाएको छ ।
सरकारले गिद्ध संरक्षणका लागि ‘गिद्ध संरक्षण कार्ययोजना २०२३–२०२९’ लागू गरेको छ । साथै देशभरका चरा तथा वन्यजन्तु संरक्षणमा लागिपरेका सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाएका छन् ।
सरकारले विसं २०६३ देखि गिद्धलाई अति हानिकारक मानिएको ‘डाइक्लोफेनेक’ (पशुको उपचारमा प्रयोग गरिने औषधि) प्रतिबन्ध लगाएसँगै गिद्धको सङ्ख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको घिमिरेले जानकारी दिनुभयो ।
सिनोमा हुने विषादी, हाइभोल्टेज तथा बिजुलीका तारमा ठोक्किएर मर्नेक्रम भने लगातार बढेको उहाँले बताउनुभयो । समाजले सन् २०१७ देखि पोखरा आसपासमा गिद्धको सङ्ख्या अध्यावधिक गर्दै आइरहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

