कर्णाली राजमार्गको तत्काल मर्मतसम्भार गर्न सांसदहरुको माग

काठमाडाैं | भदौ १८, २०८१

कर्णाली राजमार्गको तत्काल मर्मतसम्भार गर्न सांसदहरुको माग

काठमाडौं:   सांसद सुमित्रा विसीले अविरल वर्षाका कारण कर्णाली राजमार्गको दर्जनौँ स्थानमा पहिरो गई सवारी आवागमन अवरुद्ध रहेको, स्थानीय जनजीवन प्रभावित भएको भन्दै तत्काल सहज प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 


राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले कर्णाली राजमार्गको मर्मत सम्भारमा सरकारले विशेष चासो देखाओस् भन्ने माग गर्नुभयो । उहाँले सडक निर्माणका क्रममा प्रयोग हुने डोजरका कारण बाढीपहिरोमा वृद्धि भएको पाइएकाले त्यसलाई नियन्त्रण गर्न सुझाव दिनुभयो । 


पहिरो नजाने गरी सडक पूर्वाधार निर्माण गर्न आग्रह गर्दै सांसद विसीले कर्णाली राजमार्गलाई ‘मृत्यु राजमार्ग’ का रुपमा परिचय बनाएकाले तत्काल स्थानीयको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । 


सांसद सुरेशआले मगरले मुलुकमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । व्यवस्था बदलिए पनि नेपाली नागरिकको अवस्थामा कुनै पनि सुधार नभएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 


संविधान संशोधनको विषयमा पछिल्ला दिनमा चर्को बहस भइरहेको उल्लेख गर्दै उहाँले समावेशी समानुपातिक प्रतिनिधित्वलाई थप सबल बनाउनैपर्ने भएकाले त्यसविरुद्ध जाने छुट कोही कसैलाई नभएको बताउनुभयो । 


सांसद आनन्दप्रसाद ढुङ्गानाले मुलुकको राजनीतिक परिवर्तनमा शान्तिपूर्ण सङ्घर्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले हरेक पटकको राजनीतिक परिवर्तनलाई नेतृत्व र संस्थागत गरेको स्पष्ट पार्नुभयो । राजनीतिक स्थिरताका लागि पछिल्लो पटक नेपाली कांग्रेस र नेकपा९एमाले०का बीचमा सहमति र सहकार्य भएको उहाँको जिकिर थियो । 
 

सांसद सावित्री मल्लले देशव्यापी रुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो । तीनै तहमा सरकार क्रियाशील भए पनि सडक निर्माणमा लापरवाही उस्तै रहेको भन्दै समस्या समाधानमा ध्यान दिनुपर्ने उहाँको कथन छ । 


सांसद वामदेव गौतमले समस्याग्रस्त सडक सुधारका लागि आफूले पटक–पटक सदनमार्फत ध्यानाकर्षण गराए पनि कुनै पनि सुनुवाइ नभएकामा गुनासो गर्नुभयो । सदनमा सांसदहरुले राखेको विषयका बारेमा सरकारले कुनै पनि प्रतिक्रिया नजनाएको र कुनै पनि जानकारी नगराएकामा आपत्ति प्रकट गर्नुभयो । 


सांसद गौतमले राजमार्ग प्रहरी निर्माण गरी सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल हुने बताउनुभयो । सांसद गोपालकुमार बस्नेतले भ्रष्टाचार नियन्त्रणका लागि कठोर कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । 


सांसद घनश्याम रिजालले ग्रामीण क्षेत्रमा युवा जनशक्तिको अभाव रहेको तथ्य पेस गर्दै आम रुपमा आशा जगाउनका लागि निर्यात बढाएर देशभित्र रोजगारीको अवसरमा वृद्धि गर्नु जरुरी रहेको बताउनुभयो । 


सांसद उर्मिला अर्यालले निर्माण व्यवसायीको बक्यौता तत्काल भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले निर्माण व्यवसायीको समस्या समाधानका लागि पूर्ववर्ती सरकारले गठन गरेको कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गर्नुभयो । उहाँले निर्माण सम्पन्न हुन नसकेका देशभित्रका पुल तथा विकास निर्माणका बारेमा सत्य तथ्य पहिचान गरी समस्या समाधान गर्न दलिय एकतामा जोड दिनुभयो । 


सांसद रुकमिणी कोइरालाले महिला तथा बालबालिकाको स्वास्थ्य सुधारका लागि विशेष चासोका साथ सरकारले विशेष पहल गर्नुपर्ने र कार्यान्वयनमुखी कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो । 

पोखरा:    संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   गण्डकी प्रदेश सरकारको आयोजनामा आज पोखरामा संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवस मनाइएको ...

थप पढ्नुहोस्

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज हो भन्नुभएको छ ।...

थप पढ्नुहोस्

काठमाडौं:    आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ ।  शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउ...

थप पढ्नुहोस्