बाँकेमा अज्ञात रोगका कारण चार जनाको मृत्यु
बाँके | भदौ १७, २०८१

बाँके: अज्ञात रोगका कारण यहाँको नरैनापुरमा एकै परिवारका तीन जना र एक बालकसहित चार जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा चार जनाको ज्यान गएको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको यही भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।
“सुरुमा उषा पासीलाई सामान्य टाउको दुख्यो, त्यसपछि पेट दुख्यो र दुईदेखि तीन पटकसम्म पखाला लागेको रहेछ”, परिवारको भनाइलाई उद्धृत गर्दै स्वास्थ्य शाखा प्रमुख शाहले भन्नुभयो, “झाडापखाला नै हो भनेर हामीले भन्न सक्दैनौँ । किनकी दुईदेखि तीन पटकसम्म भएको दिसालाई झाडापखाला भन्न मिल्दैन ।”
उषाका श्रीमान् छोटेलाल पासीका अनुसार उषालाई केही दिन अघिदेखि टाउको र पेट दुख्नुका साथै ज्वरो आएपछि नजिकै रहेको भारतीय क्लिनिकमा उपचार गरिएको थियो । उपचारको क्रममा उषाको ज्यान गएको श्रीमान् छोटेलालको भनाइ छ ।
“टाउको दुख्यो, पटे दुख्यो भन्दै थिइन् । पछि एक दुई चोटी पातलो दिसा गरिन् । उनको उपचार चलिरहेको थियो । तर उपचार चल्दै गर्दा हामीलाई छाडेर गईन्”, छोटेलालले भन्नुभयो ।
श्रीमती उषाको मृत्यु भएको एकदिन नबित्दै ७५ वर्षीया उहाँकी ठुलीआमा शान्ति पासीको पनि उस्तै दुखाइको कारण मृत्यु भयो ।
“मेरो श्रीमतीको १४ गते मृत्यु भयो । भोलिपल्ट नै हामीसँगै बस्दै आउनुभएकी ७५ वर्षीया ठुलीआमा पनि श्रीमतीको जस्तै दुखाइका कारण मृत्यु भयो”, उहाँले भन्नुभयो, “एकै पटक परिवारका दुई सदस्य गुमाउनुको पीडा त छँदै थियो । भोलि पल्टै मेरो डेढ वर्षीया भतिजी नन्दनी पासीको पनि उस्तै लक्षणले ज्यान गयो ।”
तीन दिनमा एकै परिवारका तीन जनाको ज्यान गएको सोही गाउँमा १६ गते उस्तै लक्षण, दुखाईले १२ वर्षीय बालक सुफियान अलि सेखको पनि ज्यान गएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु भएका चारै जनाको उपचार भारतीय सीमासँग जोडिएको ‘प्राईभेट क्लिनिक’मा भएको थियो ।
उहाँले भन्नुयो, “यो खबर आजै मात्र हामीले थाहा पायौँ । थाहा पाउनासाथ स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।” नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्रका अुनसार अहिलेसम्म ४० जनाको स्वास्थ्य जाँच गराइएको छ । जसमा सात जनाको अवस्था गम्भीरबाट विस्तारै सामान्य बन्दै गएको छ ।
नरैनापुरमा भएको उक्त घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपाल नं ३० गण नेपालगञ्ज बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीसहितको टोली अनुगमनमा पुगेको थियो ।
अनुगमन पश्चात प्रजिअ रिजालले नरैनापुरको स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन दिनुभएको छ ।
मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहाद...
काठमाडौं: देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जानुहुँदैछ । यही साउन २० देखि २३ गतेसम्म (५ देखि...