‘स्माइलिङ चिल्ड्रेन’ परियोजना सुरु
काठमाडाैं | असार २७, २०७९

काठमाण्डौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुआत गर्नुभएको छ । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उहाँहरूले आज सो परियोजनाको सुरुआत गर्नुभएको हो ।
त्यसअवसरमा मन्त्री भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । उहाँले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, “संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयनका लागि आर्थिक विकास अपरिहार्य छ । त्यसका लागि हामीलाई चीनको सहयोग आवश्यक छ ।”
सो अवसरमा मन्त्री भुसालले नेपालको औद्योगिकीरण एवं आर्थिक विकासमा चीनको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
शताब्दीऔँदेखि नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ रहँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध शान्ति र सहअस्तित्वका आधारमा अझ प्रगाढ बन्दै गएको छ । यो सम्बन्ध आपसी विश्वास, सहकार्य, सहयोग र सम्मानसहित पञ्चाशीलका आधारमा स्थापित छ ।”
खासगरी चीनको आर्थिक तथा प्राविधिक सहयोगबाट भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जलस्रोत र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको शैक्षिक विकास तथा गरिबी निवारणका क्षेत्रमा पनि चीनको सहयोग रहेको बताउनुभयो । चीनले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई महत्वपूर्ण अवसर दिँदै आएको उहाँले स्मरण गर्नुभयो । चीन नेपालको सुखदुःखको साथी रहेको भन्दै मन्त्री भुसालले २०७२ सालमा गएको भूकम्प र कोभिड–१९ महामारीमा चीनले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा विदेश विभाग प्रमुख जियानचाओले नेपाल चीनको असल छिमेकी भएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महान् मुलुक नेपाल चीनको असल छिमेकी साझेदार हो, हाम्रो जनस्तरको सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ ।”
बालबालिकाहरू देशको भविष्य भएको उल्लेख गर्दै लिउले भन्नुभयो, “बालबालिका नेपाल–चीन मितेरीका भविष्य हुन् । बालबालिकाको खुसीले दुई देशको सम्बन्धमा नयाँ आयाम थप्न सहयोग गर्छ, सम्बन्धलाई अझ मजबुत बनाउँछ । उहाँहरू नेपाल–चीन सम्बन्धको नयाँ बीउ हो ।” ग्लोबल डेभलपमेन्ट तथा साउथ–साउथ कोपरेशन फण्डमार्फत नेपालको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने उहाँले विश्वास दिलाउनुभयो ।
कार्यक्रममा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना नेपालका ३५ विद्यालयमा लागू भएको र त्यसबाट पाँच लाख बालबालिका लाभान्वित भइरहेको जानकारी दिइयो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...