यातायात क्षेत्रको समस्या सम्बोधन भएन:  महासङ्घ

काठमाडाैं | भदौ १३, २०८१

यातायात क्षेत्रको समस्या सम्बोधन भएन:  महासङ्घ तस्बिर फाइल

काठमाडौं:    देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ । 


महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोलीले बुधबार गृहमन्त्री रमेश लेखकलाई भेटेर नजिकिँदो चाडपर्वलाई ध्यान राखेर यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो ।


महासङ्घका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रमा निम्न, मध्यम र स्वरोजगार व्यवसायीको चार लाख सवारीसाधनमा रु १० खर्बभन्दा बढी लगानी रहेकाले यसको सुरक्षा र यसभित्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको जानकारी दिनुभयो । सडक दुर्घटनाबाट अहिले दैनिक सातजनाको मृत्यु हुनुका साथै ४० जना घाइते हुने गरेका छन् ।


उहाँले चाडपर्व नजिकिँदै गर्दा कतिपय राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रिएको जनाउँदै उक्त राजमार्गलाई चाँडो मर्मतसम्भार गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । 


महासङ्घले गत असार २८ गते चितवनको सिमलतालमा पहिरोबाट दुईवटा सवारीसाधन पुरेको घटनाको अध्ययन गरी प्रतिवेदन बुझाएकाले उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न माग गरेको हो । 


यस्तै २०७८ माघ ११ गते पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित यातायात सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन यथाशक्य कार्यान्वयन हुनुपर्ने बताएको हो ।


महासङ्घले यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, उपभोक्ता, मजदुर, प्रविधिमैत्री र दुर्घटना न्यूनीकरण गर्नका लागि यातायात प्राधिकरण गठन गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र पाटपुर्जाको मूल्य वृद्धि भएकाले यातायात भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना सवारीको हकमा सर्वोच्च अदालतले फैसला गरिसकेकाले उक्त फैसलाको कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।

 

यसैगरी, रातो नम्बरप्लेटका सवारीसाधनलाई सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न दिइएको जनाउँदै उक्त कार्य रोक्नुपर्ने, भारतीय मालवाहक सवारीसाधनले सामान ओसारपसार गर्दा नेपाली मालवाहक सवारीसाधन मर्कामा परेकाले यसलाई रोक्नुपर्ने बताइएको छ ।

 

यस्तै, टिपरलाई काठमाडौँ उपत्यका प्रवेशमा निश्चित समय तोकिँदा बैंकको ब्याजदर, किस्तामा समस्या देखिएकाले उक्त समय पुनरावलोकन हुनुपर्ने, दुर्घटना उद्धार तथा राहत कोष निर्माण गर्न माग गरेको छ ।

 

सो अवसरमा गृहमन्त्री लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम  गर्न र यात्रुलाई चाडपर्वलक्षित प्रभावकारी सेवा प्रवाह गर्न  व्यवसायीलाई आग्रह गर्नुभएको थियो ।  उहाँले भन्नुभयो,“दुर्घटना एकदमै बढ्यो, यो भएन, सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, नेपाल प्रहरीलाई भन्न चाहन्छु, आगामी दुई÷तीन महिनामा दुर्घटना कम भएको देखिनुपर्छ, मलाई परिणाम चाहिन्छ ।” 

पोखरा:    संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   गण्डकी प्रदेश सरकारको आयोजनामा आज पोखरामा संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवस मनाइएको ...

थप पढ्नुहोस्

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज हो भन्नुभएको छ ।...

थप पढ्नुहोस्

काठमाडौं:    आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ ।  शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउ...

थप पढ्नुहोस्