२६ औं लामाचौर तीज महोत्सव तयारी, लामाचौर कप भलिबलमा महिला र पुरुषतर्फ ५/५ टोली

पाेखरा | भदौ ११, २०८१

२६ औं लामाचौर तीज महोत्सव तयारी, लामाचौर कप भलिबलमा महिला र पुरुषतर्फ ५/५ टोली

पोखरा:     नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको छ ।


संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको हो ।


मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए ।


‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप हो । दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५/५ टिमले भाग लिने जनाइएको छ ।


महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बल एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलले भाग लिने छन् ।


पुरुषतर्फ विभागीय सशस्त्र प्रहरी बल एफिएफ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ ।


दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख १११, तेस्रोलाई ५० हजार १११ नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ । टिमको यातायात, आवास र खाना खर्च आयोजकले व्यवस्थापन गर्नेछ । भलिबल भने महोत्सव उद्घाटनको अघिल्ल्लो दिन भदौ १८ देखि नै सुरु हुनेछ ।


यस्तै, अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्का आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुली लगायत विशेष प्रस्तुति रहनेछ । महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु रहने छन् ।


तीज गीतमा प्रथमलाई ५० हजार १११, दोस्रोलाई ३० हजार १११, तेस्रोलाई २० हजार १११ र सान्त्वनालाई १० हजार १११ साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ । अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ ।


आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ । छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ ।


महोत्सव सम्पन्न गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । संस्थाले सर्वसाधारणको सेवामा लामो समयदेखि एम्बुलेन्स तथा शववाहन संचालन गर्दै आएको छ ।


संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले लामाचौर महोत्सवमा भलिबलको क्रेज बढ्दै गएको भन्दै संस्थाले छुट्टै भलिबल कोर्ट निर्माण तयारी गरेको सुनाए । पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिएको बताए ।


महोत्सवमा प्रवेश निशुल्क हुनेछ तर भलिबल हेर्न टिकट काट्नु पर्छ । भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको सचिव हरिबहादुर थापाले बताए । महोत्सवको मुख्य सहयोगी इन्द्रराज्यलक्ष्मी मावि र बानियाँ किराना स्टोर्स लामाचौर छन् । संरक्षकमा पोखरा वडा १९ र वडा १६ का वडा कार्यालय छन् ।


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्