२६ औं लामाचौर तीज महोत्सव तयारी, लामाचौर कप भलिबलमा महिला र पुरुषतर्फ ५/५ टोली

पाेखरा | भदौ ११, २०८१

२६ औं लामाचौर तीज महोत्सव तयारी, लामाचौर कप भलिबलमा महिला र पुरुषतर्फ ५/५ टोली

पोखरा:     नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको छ ।


संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको हो ।


मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए ।


‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप हो । दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५/५ टिमले भाग लिने जनाइएको छ ।


महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बल एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलले भाग लिने छन् ।


पुरुषतर्फ विभागीय सशस्त्र प्रहरी बल एफिएफ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ ।


दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख १११, तेस्रोलाई ५० हजार १११ नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ । टिमको यातायात, आवास र खाना खर्च आयोजकले व्यवस्थापन गर्नेछ । भलिबल भने महोत्सव उद्घाटनको अघिल्ल्लो दिन भदौ १८ देखि नै सुरु हुनेछ ।


यस्तै, अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्का आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुली लगायत विशेष प्रस्तुति रहनेछ । महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु रहने छन् ।


तीज गीतमा प्रथमलाई ५० हजार १११, दोस्रोलाई ३० हजार १११, तेस्रोलाई २० हजार १११ र सान्त्वनालाई १० हजार १११ साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ । अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ ।


आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ । छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ ।


महोत्सव सम्पन्न गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । संस्थाले सर्वसाधारणको सेवामा लामो समयदेखि एम्बुलेन्स तथा शववाहन संचालन गर्दै आएको छ ।


संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले लामाचौर महोत्सवमा भलिबलको क्रेज बढ्दै गएको भन्दै संस्थाले छुट्टै भलिबल कोर्ट निर्माण तयारी गरेको सुनाए । पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिएको बताए ।


महोत्सवमा प्रवेश निशुल्क हुनेछ तर भलिबल हेर्न टिकट काट्नु पर्छ । भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको सचिव हरिबहादुर थापाले बताए । महोत्सवको मुख्य सहयोगी इन्द्रराज्यलक्ष्मी मावि र बानियाँ किराना स्टोर्स लामाचौर छन् । संरक्षकमा पोखरा वडा १९ र वडा १६ का वडा कार्यालय छन् ।


 

झापा:   जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।       भद्रपुर नगरपालिका...

थप पढ्नुहोस्

काठमाडौं:    बाह्रखरी मिडियाले छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । मिडियाले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धन गर्ने...

थप पढ्नुहोस्

पोखरा:   कास्की प्रहरीले विभिन्न मुद्धामा दोषी करार भएका फरार ८६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।     भदौं महिनाभर कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका ६३ जना पुरुष र २३ जना म...

थप पढ्नुहोस्